ताजा समाचार

विनाशकारी भूकम्प गएको आज दुई वर्ष पूरा : पुनःनिर्माण सुस्त

काठमाडौं १२ बैशाख । विनाशकारी भूकम्प गएको आज दुई वर्ष पूरा भएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ साल बैशाख १२ गते गएको भूकम्पका कारण करिव ९ हजारले ज्यान गुमाएका थिए भने अर्बौंको क्षति भएको थियो ।

विनासकारी भूकम्प गएको २ वर्षसम्म पनि पीडितले अनुदान नपाएको र पुनर्निर्माणले गति लिन नसकेको भन्दै गुनासो बढेको छ । सरकारी अनुदानबाट अहिलेसम्म एउटै घर बन्न सकेको छैन भने क्षतिग्रस्त ७ सय भन्दा बढी ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण शुरु हुन सकेको छैन ।

राजनीतिक टकराव र नीतिगत झण्झटमा पुनर्निर्माण प्राधिकरण अल्झिदा पुनर्निर्माणको कामले गति लिन नसकेको हो । भूकम्प प्रभावित ११ जिल्लामा २ वर्षको अवधिमा ३ दशमलव ५३ प्रतिशत मात्रै घर बन्न सकेको छ भने कतिपय जिल्लाका प्रभावितले पहिलो किस्ता समेत पाउन सकेका छैनन् ।

पुनर्निर्माणका लागि ४ खर्ब भन्दा बढीको वैदेशिक सहायता प्रतिवद्धता आएपनि प्रभावकारी काम हुन सकेको छैन भने नीतिगत अन्यौलका कारण दाताले घोषणा गरेको रकम समेत आउन सकेको छैन ।

यसैबीच गोरखाको बारपाक केन्द्रविन्दु बनाएर २ बर्षअघि गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म साना ठूला गरि करिव ५ सयवटा परकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको बरम्चीलाई केन्द्रविन्दु बनाएर हिजो पनि ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको केन्द्रले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org