ताजा समाचार

आगलागीमा लाखौँको क्षति

इटहरी, १४ वैशाख । सुनसरी जिल्लाको दक्षिणी क्षेत्रमा रहेको हरिनगरा गाउँपालिका–६ (घुस्की)मा आज बिहान भएको भीषण आगलागीमा परेर छ परिवारको घर गोठ नष्ट हुँदा कम्तीमा रु ६० लाखभन्दा बढीको क्षति भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी, गोपालप्रसाद पराजुलीका अनुसार हसिम अन्सारीको घरबाट विद्युत् सर्ट भई सुरु भएको आगोले उनको छरछिमेकमा रहेका छ परिवारको घर गोठ जलेर नष्ट भएको हो ।

मुस्लिम समुदायको सघन बसोबास रहेको उक्त आगोलाई स्थानीयवासी प्रहरी वारुणयन्त्र र सशस्त्र प्रहरीसमेतको सक्रियतामा नियन्त्रण गरिएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।

आगलागी भएर घरबारविहीन बन्न पुगेका परिवारलाई आजै आपतकालीन राहत वितरण गर्ने तयारीकासाथ घटनास्थल जाने तयारी भइरहेको पनि प्रजिअ, पराजुलीले जानकारी दिनुभयो ।

बिहान ५ बजेतिर आगलागी सुरु भएको र आगो लागेर तीन परिवारको घर गोठ पूरै खरानी भएको र उनीहरुको घरमा भएको कुनै पनि सरसामान निकाल्न नपाएको तथा ती सबै परिवारको घरगोठसमेत जलेर सखाप भएकाले उनीहरुको बसोबासका लागि पनि आपतकालीन सहयोग आवश्यक रहेको बताइएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org