ताजा समाचार

उम्मेदवारको मृत्यु भएको वडामा जेठ २ गते मतदान हुने


चितवन, २८ बैशाख । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सो क्षेत्रको उक्त वडामा मात्रै जेठ २ गते निर्वाचन हुने गरी निर्वाचनको कार्यक्रम सूची सार्वजनिक गरिएको छ ।

सो वडामा वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र) बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले आज उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरी आज नै चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको जानकारी दिए ।

अन्य क्षेत्रमा निर्वाचनका लागि खटिने सबै कर्मचारी तथा स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेको ढकालले जानकारी दिए । उनका अनुसार जिल्लाका ३७६ मतदान केन्द्रमा तीन हजार ३५० जना कर्मचारी र स्वयंसेवक खटिएका छन् ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मतदान केन्द्रको सुरक्षा चुस्त पारिएको भन्दै सम्भावित क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए । चितवनमा सात स्थानीय निकाय रहेका छन् जसमा एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेका छन् । जिल्लामा कुल तीनलाख १३ हजार दुई मतदाता रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org