ताजा समाचार

पहिलो चरणको चुनावमा हार व्यहोरेका डा. बाबुराम भट्टराई देशदौडाहमा, एकाएक पुनर्बास पुगे

काठमाडौं, ८ जेठ । पहिलो चरणको निर्वाचनमा हार व्यहोरेका नयाँ शक्ति नेपाल पार्टीले दोस्रो चरणको चुनाव आफ्नो पक्षमा पार्ने गरी तयारी थालेको छ । पहिलो चरणको निर्वाचनमा एक सिट मात्र जितेको नयाँ शक्ति दोस्रो चरणको चुनावलाई रणनीति बनाउन लागिपरेको छ । त्यसको लागि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई यतिबेला देशदौडाहमा छन् ।

उनी सोमबार एकाएक कञ्चनपुरको पुनर्बास पुगेका छन् । डा. भट्टराई सोमबार बिहानै भारतीय सीमा जोडिएको कञ्चनपुर जिल्लाको पुनर्वासमा पुगे । उनले त्यहाँ भारतीय सुरक्षा फौजबाट मारिएका गोविन्द गौतमका परिवारजनसँग भेटघाट गरेका छन् ।

डा. भट्टराईले त्यहाँ नेपाली सीमाको अवस्थाबारे पनि अवलोकन गरेका छन् । सीमा अवलोकनका क्रममा स्थानीयबासीले पूर्वप्रधानमन्त्री समेत रहेको भट्टराईसँग २०० नम्बरको सीमास्तम्भ हराएको जानकारी गराउँदै सीमालाई व्यवस्थित बनाउनेबारे पहल गरिदिन आग्रह गरे । साथै सहीद परिवारले अहिलेसम्म केही नपाएको गुनासो गरे ।

सीमा अवलोकन गर्नुभन्दा अघिल्लो दिन डा. भट्टराईले बर्दियामा नयाँ शक्ति पार्टीका तर्फबाट आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गरे । प्रचण्ड गर्मीमा सेतो कुर्ता र पाइन्ट लगाएर तराई झरेका डा. भट्टराईले बर्दियामा पार्टी प्रवेश कार्यक्रममा केही कार्यकर्तालाई अवीरसमेत लगाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org