ताजा समाचार

आफ्नै छोरा र श्रीमानसँग अपहरणको नाटक गर्दै ३० लाख फिरौती माग्दा…

झापा, १९ जेठ । जन्मदिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै रु ३० लाख फिरौती माग्लिन् भन्ने कुनै छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै । आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमान्सँग त्यति ठूलो फिरौती रकम माग्ने झापा, बिर्तामोड नगरपालिका–५ निवासी बबिता बस्नेत र हाँडीखोला–७ मकवानपुर (हाल मनोहरी गाउँपालिका–४) निवासी विष्णुबहादुर गोतामेलाई प्रहरीले बिहीबार पक्राउ गरेसँगै आमाले छोरासँग फिरौती रकम मागेको रहस्य बाहिर आएको हो ।

गत जेठ ११ गते बबिता र विष्णु ११ बजे बबिताको घरबाट हिँडेका थिए । उनीहरुले विराटनगर पुगेर बबिताका दाजु कुलमणि बस्नेतलाई आफू अपहरणमा परेको भन्दै रु १० लाख फिरौती रकम मागेका थिए । साँझ ५ बजेर ३ मिनेट जाँदा बबिताले प्रयोग गर्ने मोबाइलबाट दाजु कुलमणि बस्नेतलाई ‘तेरी बहिनी मेरो कब्जामा छ, सकुशल चाहन्छस् भने रु १० लाख भनेको ठाउँमा ल्याइदे, नत्र बहिनी र तँ अनि तेरा छोरा–छोरीलाई खतरा हुन्छ’ भन्दै फोन गरेको रेकर्ड प्रहरीले फेलापारेको छ ।

लगत्तै सोही मोबाइलबाट उनलाई सोही प्रकृतिको सन्देश पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले बताए । विराटनगरबाट बबिताका दाइ कुलमणिलाई फिरौतीको रकम मागेपछि भेडेटार गएर उनका श्रीमान् र छोरालाई फोन र एसएमएस गर्दै फिरौती रकम बढाएर रु ३० लाख पुर्‍याएको प्रहरीले जनाएको छ ।

‘रकम दिने भए दे, नत्र तेरी श्रीमतीको लास कोसीको किनारमा भेटाउँछस्’ भन्दै बबिताका श्रीमान्लाई गोतामेले बबिताकै नम्बर प्रयोग गरेर एसएमएस गरेको अनुसन्धानकाक्रममा खुलेको इप्रका, अनारमनीका प्रहरी नायब उपरीक्षक थेवेले बताए । ११ गते बबिता बेपत्ता भएको भन्दै उनका श्रीमान् मेघराज चौहान र छोरा इप्रकामा आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

बबिताको फेसबुक आइडीबाट छोरा, श्रीमान् र दाजुलाई आफू अपहरणमा परेको र आफ्नो हालत यस्तो भएको भन्दै अडियोसहितको भिडियो म्यासेज पठाएर अपहरणमा परेको नाटक गरिएको प्रहरी नायब उपरीक्षक थेवेले बताए । प्रहरी नायब उपरीक्षक थेवेकाअनुसार उनका श्रीमान्ले रु १० लाखमात्र दिने भनेपछि पैसाकोसमेत फोटो खिचेर पठाउन बबिता र गोतामेले फेसबुकमार्फत् नै सूचना पठाएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक थेवेले भने–‘प्रहरी र उनका श्रीमान्ले नगद रु १० लाख बबिता सुत्ने खाटमा राखेर तस्वीर खिचेर म्यासेज बक्समा पठाएपछि उनीहरुले थप रु पाँच लाख मागे । सो रकमसमेत हामीले बन्दोबस्त गरेर फोटो पठाइदिएपछि पैसा लिने चाँजोपाँजो उनीहरुले मिलाए । पैसा लिन आउने गोतामेका भाञ्जा रहेछन्, अनुसन्धानकाक्रममा भाञ्जाबाट उनीहरुको मोबाइल नम्बर पत्ता लगाएर उनीहरुलाई सर्लाहीको युनाइटेड होटलबाट पक्राउ गरेका हौं ।’

गोतामे र बबिता भागेर कसैले थाह नपाओस् भनी फिरौती रकम माग्दै स्थान परिवर्तन गर्दै बसे । प्रहरी नायब उपरीक्षक थेवेकाअनुसार भागेको दिन विराटनगरबाट भेडेटार, १२ गते धरान चतारा हुँदै झुम्का, १३ गते वीरगन्ज, १४ गते सर्लाही, १५ र १६ गते पुनः वीरगन्जमा बसेका थिए ।

‘जेठ १७ गते सर्लाहीको लालबन्दीको होटलमा रहेकाबेला उनीहरुलाई हामीले पक्राउ गर्न सफल भयौं’–थेवेले भने । बबिताका १८ वर्षका छोरा रहेको बताइएको छ । उता, गोतामेका श्रीमतीसहित दुई छोरी र एक छोरा छन् । गोतामे र बबिताले सहमतिमा भागेर विवाह गर्ने निर्णय गरेको र जेठी श्रीमतीलाई मिलाउन आफूले यो नाटक गरेको पक्राउ परेका गोतामेले प्रहरीसमक्ष स्वीकारेको बताइएको छ ।

पक्राउ परेका गोतामे वैदेशिक रोजगार कम्पनी चलाउने व्यवसायी भएको बताइन्छ । उनले भारतको सिलगढीमा बबितासँग मिलेर कार्यालय खोल्न लागेकोसमेत बताइएको छ । अपहरणमा परेको नाटक गर्दै फिरौती रकम माग्ने बस्नेत र गोतामेलाई प्रहरीले थप अनुसन्धानका लागि इप्रका, अनारमनीमा राखेको प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org