ताजा समाचार

एमाले प्रमुख निर्वाचन आयुक्तविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारीमा

काठमाडौं, २१ जेठ । नेकपा एमालेले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने गृहकार्य थालेको छ । भरतपुरको वडानम्बर १९ मा पुनः मतदान गराउने यादव नेतृत्वको टिमको निर्णयबाट रुष्ट एमालेले आयोगको छविलाई कांग्रेस र माओवादीको इशारामा लागेर धमिलो बनाएको र गरिमा समेत घटाएको निश्कर्ष निकाल्दै एमालेले महाअभियोगको सजिलो बाटोमार्फत यादवलाई निलम्बन गर्ने भएको हो ।

संसदको कायम कुल सदस्य संख्याको एकचौथाई सदस्यले संवैधानिक अंगका अधिकारीविरुद्ध संसदमा महाअभियोग दर्ता गराउन सक्छन् । हाल संसदमा कायम कुल सदस्य संख्या ५ सय ९३ हो । यो हिसाबले एकचौथाई सदस्य भनेको १ सय ५७ को हो । एमाले एक्लैको संसदमा १ सय ८१ सिट रहेको छ । यो हिसाबले यादवविरुद्ध महाअभियोग दर्ता गराएर उनलाई निलम्बन गर्न एमालेलाई गाह्रो छैन । महाअभियोग दर्ता हुनेबित्तिकै सम्बद्ध व्यक्ति पदबाट तत्कालै निलम्बनमा पर्ने संवैधानिक व्यवस्था छ ।

एमालेका एक नेताले प्रमुख आयुक्त यादव सत्तापक्षको मतियार बनेर एमालेविरुद्ध नांगो रुपमा लागेका दाबी गर्दै भने, हामीले सबै सांसदको हस्ताक्षर संकलन गरेका छौ, अब अवस्था हेरेर महाअभियोग दर्ता गराउँछौ ।

ती नेताको भनाईमा आइतबार संसद अवरुद्ध गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्ने, आफू निकटका कानून व्यवसायीमार्फत आयोगको निर्णयलाई अदालतमा पुर्याएर त्यहाँबाट पुनः मतदान रोक्ने र त्यसपछि यादवविरुद्ध संसदमा महाअभियोग दर्ता गर्ने एमाले रणनीति रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org