ताजा समाचार

घुस लिँदालिँदै दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ

सिन्धुली, २३ जेठ । घुस लिँदैगर्दा मंगलबार दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् । सोलार जडानका लागि अवैध पैसा लिँदैगर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलेक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

गोलन्जोरका कार्यकारी अधिकृत भोलाकुमार आलेलाई रु एक लाख ५१ हजार र फिकलका कार्यकारी अधिकृत सतीश भट्टराईलाई रु ९० हजार घुस लिएको आरोप लगाइएको छ । कमलामाई नगरपालिका–६ स्टलबजारस्थित ध्रुव इलेक्ट्रोनिक्ससँग रु पाँच लाखको सोलार खरिदमा उनीहरुले पसलेसँग घुस लिँदैगर्दा पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

विद्युतलाइन नपुगेका गाउँपालिकामा सोलार जडान गर्दा आफूले भनेअनुरुप पैसा नदिए सोलारको भुक्तानी रोकिदिने भन्दै ध्रुव इलेक्ट्रोनिक्सका प्रोपाइटर ध्रुव श्रेष्ठलाई धम्क्याइएको सिंहले बताए । यसअघि नै उनीहरुले सोलारको भुक्तानी गर्नुपर्ने भएपनि पैसा नदिएकै कारण रोक्दै आएका थिए ।

सिन्धुलीमा यसअघि गत चैत १८ गते कमलामाई सिन्धुलीका नापी सर्वेक्षक सन्तोष श्रेष्ठलाई बाटो छुट्याइदिएबापत रु २२ हजार पाँच सय घुस लिएको आरोपमा आयोग सम्पर्क कार्यालय बर्दिवासले पक्राउ गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org