ताजा समाचार

चौथो कार्यकालका लागी प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको बायोडाटा

काठमाडौं, २३ जेठ । शेरबहादुर देउवा मुलुकको ४० औ प्रधानमन्त्रीको रुपमा संसदबाट निर्वाचित भएका छन् । संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा यसअघि तीनपटक प्रधानमन्त्री भैसकेका छन् । २०७२ फागुन २० देखि २४ मा भएको कांग्रेसको १३ औं महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका देउवा प्रधानमन्त्रीमा झण्डै दुइ तिहाई सांसदको समर्थनमा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । उनलाई माओवादी, राप्रपा, मधस केन्द्रीतका साथै साना दलहरुको समर्थन छ ।

२००४ साल जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा जन्मिएका देउवाले विभिन्न समयमा राजनैतिक संघर्षका क्रममा नौ वर्ष जेलजिवन बिताइसकेका छन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसंघको प्रथम सभापति हुँदै २०४६ सालमा प्रजातन्त्र आएपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलन पछिका दुईवटै संविधानसभा चुनावमा लगातार विजयी हुँदै आएका छन् ।

४५ वर्षको उमेरमा गृहमन्त्री बनेको ५ बर्ष नवित्दै उनी प्रधानमन्त्रीको कुर्सीमा बसेका थिए । विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नम्बर १ बाट तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा क्षेत्र नम्बर १ र कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर ४ बाट विजयी देउवाले गृहमन्त्री र पटक–पटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसककेका छन ।

विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी काँग्रेसको संसदीय दलको नेतृत्व गर्दै विसं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए । २०४८ को आमनिर्वाचनपछि गृहमन्त्री बनेका उनले २०५२, २०५८ र २०६१ मा गरी तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका हुन् ।

त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो गरिसकेका छन् । देउवा एक छोराका पिता हुन । उनकी धर्मपत्नी डा. आरजु पनि अहिले व्यवस्थापिका–सांसद रहेकी छिन ।

यसअघि तीनपटक सम्म सरकार चलाएको अनुभव भएका देउवा सत्ताका माहिर खेलाडी समेत मानिन्छन् । यद्यपी उनले यसअघि सरकारको नेतृत्व गर्दा असफल प्रधानमन्त्रीको आरोप समेत लागेको छ । साशनसत्ता राजालाई बुझाएको आरोप समेत खेपेका देउवाले अव भने मुलुकलाई कसरी हाक्छन् त्यो भने हेर्न बाँकी छ ।

१.पहिलो पटक –२०५२ भाद्र २७ देखि २०५३ फागुन २० (५७४ दिन ) १८ महिना
२.दोस्रो पटक –२०५८ श्रावण ११ देखि २०५९ आश्विन १८ (४३५ दिन साढे १४ महिना )
३. तेस्रो पटक –२०६१ जेठ २१ देखि २०६१ माघ १९ (२४३ दिन) (८ महिना )

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org