ताजा समाचार

यी हुन्, उपत्यकामा चार स्मार्ट सिटी, तीन वर्षसम्म जग्गाको कित्ताकाट समेत रोक्का

काठमाडौं, २८ जेठ । सरकारले उपत्यकाभित्र चार क्षेत्रमा स्मार्ट सिटी बनाउने योजना अघि सारेको छ । स्मार्ट सिटी बनाउने योजनाले उपत्यकाभित्र चार किल्ला तोकेर ती क्षेत्रमा तीन वर्षसम्मका लागि जग्गा कित्ताकाटमा समेत रोक लगाएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले चारवटा स्मार्ट सिटी बनाउने निर्णय गरेको थियो । चारवटा सिटी बनाउँदा एक लाख ३० हजार रोपनी जग्गा समेटिने उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

पहिलो स्मार्ट सिटी बनाउन चाहिने एक लाख रोपनी जग्गा मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूलसडक तथा शालीनदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म समेट्नेछ । त्यसैगरी, खरिपाटीस्थित नेपाली सेनाको ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापाखे आयोजना, बोडे, मनोहरा हुँदै पुनः मूलपानी क्रिकेट मैदानलाई समेटिने प्राधिकरणका प्रवक्ता केशव न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार दोस्रो स्मार्ट सिटी भक्तपुरकै सूर्यविनायक जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार भएर पुनः सूर्यविनायकसम्म जोडिनेछ । यी क्षेत्रमा १० हजार रोपनी जग्गा आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

तेस्रो स्मार्टसिटीमा खोकना, बुंगमती, सैंबु आवास क्षेत्र, वाग्मती झोलुंगे पुल हुँदै चोभारसम्मको क्षेत्रफललाई समेटिएको छ । यी क्षेत्रमा सहर बनाउन सरकारले १० हजार रोपनी क्षेत्रफलको जग्गा समेटेको छ । चौथो, स्मार्ट सिटीका लागि तारकेश्वर जाने मूलबाटो, सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्मको १० हजार रोपनी क्षेत्रफलको जग्गा समेटिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

स्मार्ट सिटीका लागि तोकिएका क्षेत्रमा तीन वर्षसम्म जुनसुकै प्रकारको अचल सम्पत्ति प्राधिकरणको पूर्वस्वीकृतिविना भौतिक परिवर्तन वा टुक्र्याउन नपाउने गरी रोक लगाइएको छ । सरकारले घोषणा गरेको चारवटा स्मार्ट सिटीमा १० वर्षभित्र सार्वजनिक क्षेत्रबाट एक खर्ब ३० अर्ब र निजी क्षेत्रबाट पाँच खर्ब दुई अर्ब लगानी गरी १३ लाख जनसंख्यालाई समेटिने गरी नगरहरूको व्यवस्थित घडेरी विकास हुने सहरी विकास मन्त्रालयले जनाएको छ ।

कहाँ-कहाँ बन्दै छ स्मार्ट सिटी

पहिलो : एक लाख रोपनी

मूलपानी क्रिकेट मैदानबाट साँखु जाने मूलसडक, शालीनदी पुलबाट तेलकोट, खरिपाटी सैनिक ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापाखे आयोजना, बोडे, मनोहरा भएर पुन: मूलपानी क्रिकेट मैदान ।

दोस्रो : १० हजार रोपनी

भक्तपुरकै सूर्यविनायक जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार, पुन: सूर्यविनायक ।

तेस्रो : १० हजार रोपनी
खोकना, बुंगमती, सैंबु आवास क्षेत्र, वाग्मती झोलुंगे पुल हुँदै चोभारसम्म ।

चौथो : १० हजार रोपनी

तारकेश्वर जाने मूलबाटो, सिम्लेश्वर, झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्म ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org