ताजा समाचार

वायुसेवा निगमलाई एयरबस किन्न कर्मचारी सञ्चय र नागरिक लगानी कोषले २४ अर्ब रुपैयाँ दिने

 

काठमाडौं, २९ जेठ । नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस किन्ने पैसाको व्यवस्था हुने भएको छ । एयरबस किन्न वित्तीय श्रोत नपाएर त्यक्तिकै बसिरहेको निगमलाई कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले २४ अर्ब रुपैयाँ दिने भएका छन् । त्यसको लागि कर्मचारी सञ्चय कोष र बायुसेवा निगमबीच आइतबार जहाज किन्ने ऋण सम्झौतामा हस्ताक्षर भएको छ । आज नागरिक लगानी कोषले निगमसँग यस्तै सम्झौतामा हस्ताक्षर गर्दैछ ।

निगमले यसअघि नै पोर्चुगिज हाई-फ्लाई र अमेरिकन कम्पनी एएआरसँग दुईवटा वाइडबडीको खरिद सम्झौता गरिसकेको छ । सञ्चय कोषसँग मात्रै १२ अर्ब रुपैयाँ ऋण लिने गरी सम्झौता भएको निगमले जनाएको छ । ऋणको अवधि १५ वर्षको हुनेछ । निगमलाई कोषले सरकारको जमानीमा ऋण दिने गरी सम्झौता गरेको हो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२र१२ अर्ब रुपैयाँ ऋण लिन लागेको हो ।

दुबै कोषले हाललाई ९ प्रतिशत ब्याजदरमा ऋण दिएका छन् । तर, सञ्चय कोषसँगको सम्झौतामा आफ्ना सञ्चयकर्तालाई दिइने ब्याजदरभन्दा २१.५ प्रतिशत ब्याजदर कायम रहने उल्लेख छ । अहिलेको ब्याजदरका आधारमा ९ प्रतिशत कायम भएपनि कोषले सञ्चयकर्तालाई ब्याज बढाएमा ऋणको ब्याजदर पनि बढ्नेछ ।

सुरुवातमा निगमले अब दुबै कोषबाट ४ अर्ब देखि ४ अर्ब २५ करोड रुपैयाँसम्मको पहिलो भुक्तानी लिनेछ । निगमले पहिलो विमान सन् २०१८ को अप्रिलसम्म आइसक्ने गरी सम्झौता गरेको छ । दोस्रो विमान सन् २०१८ को मेसम्ममा आइपुग्ने छ ।

दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर (२१ अर्ब ९० करोड रूपैयाँ) मा खरिद गर्ने गरी सम्झौता भएको छ । यो नेपालको उड्ययन इतिहासमा नै यति ठूलो रकम खर्चेर एकैपटक विमान खरिद गर्न लागिएको यो पहिलोपटक हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org