ताजा समाचार

राष्ट्रपतिको तेस्रो विदेश भ्रमण, ११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै आज स्विजरल्यान्ड जाँदै

काठमाडौं, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी आज स्विजरल्यान्ड भ्रमणमा जादैछिन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्यान्डको जेनेभामा आयोजना गर्न लागेको ‘वल्र्ड अफ वर्क समिट’ मा भाग लिन राष्ट्रपति त्यसतर्फ जान लागेकी हुन् । संयुक्त अरब इमिरेट्स हुँदै राष्ट्रपति नेतृत्वको ११ सदस्यीय टोली जेनेभा जान लागेको छ ।

राष्ट्रपति आज अपराह्न ५ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं सत्रकै दौरान ‘वल्र्ड अफ वर्क समिट’ हुन लागेको हो । नेपालका अलावा मौरिसस र माल्टाका राष्ट्रपति पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

नयाँ संविधानमार्फत महिला तथा कामदारका हक, हित र अधिकार सुनिश्चित गरिएकोलगायत विषयमा राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउने भएको छ । राष्ट्रपति भण्डारी भ्रमण सकेर आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । स्विजरल्यान्डमा रहँदा उहाँसँग आईएलओका महानिर्देशक गाई राइडरले भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्र सचिव शंकर वैरागी, राष्ट्रपतिकी निजी सचिव विमला राई, शिष्टाचार महापाल दीपक अधिकारी, परराष्ट्र सहसचिव भरतराज पौड्याललगायत ११ जना रहनेछन् । राष्ट्रपतिको यो तेस्रो विदेशयात्रा हुन लागेको हो । यसअघि भण्डारी पहिलो विदेशयात्रामा छिमेकी भारत गएकी थिईन् । राष्ट्रपतिको दोस्रो भ्रमण श्रीलंकामा भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org