ताजा समाचार

भित्तामा ठोक्किएर बस दुर्घटना, ११ महिने शिशुको झ्यालबाट उछिट्टिएर मृत्यु, ५ घाइते

खोटाङ, ३० जेठ । खोटाङमा बस दुर्घटना हुँदा ११ महिने एक शिशुको ज्यान गएको छ । सदरमुकाम दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको बा २ ख ७०७१ नम्बरको बस सोमबार राति हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा भित्तामा ठोक्किँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका शिशु अजित बिश्वकर्माको घटनास्थलमै ज्यान गएको हो ।

मध्यपहाडी यातायात व्यवसायी संघमा आवद्ध बस जयरामघाटभन्दा एक किलोमिटर माथि रहेको मोडको भित्तामा ठोक्किँदा काखको शिशु झ्यालबाटै उछिट्टिएर ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले जानकारी दिए ।

दुर्घटनामा रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३२ वर्षकी मनकला राई, ३० वर्षकी अनु राई, १४ महिने नयन राई, २१ महिने समनिया राई गम्भीर घाईते भएका छन् । यस्तै, दुर्घटनामा ३३ वर्षका कृष्णबहादुर राई पनि घाइते भएको प्रहरीचौकी च्यास्मीटारले जनाएको छ । घाइतेको कटारी, धरान लगायतका विभिन्न स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । दुर्घटना लगत्तै बसका चालक आकाश मगर फरार रहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org