ताजा समाचार

गृहमन्त्री जनार्दनले ‘गुन्डाहरूलाई तह लगाउँछु’ भनेको केहीदिनमै गुन्डा नाइके दावा लामा फरार

काठमाडौं, ३० जेठ । गुण्डा नाइके दावा लामा फरार भएका छन् । गृहहमन्त्री जनार्दन शर्माले ‘गुन्डाहरूलाई तह लगाउँछु’ भनको केही दिनभित्रै ‘डन’ लामा सिङ्गापुरतिर फरार भएका हुन् । गुन्डा नाइके दावा लामा आफ्ना दुई साथी फुर्वा लामा र सञ्जीव तामाङसहित सिङ्गापुरतिर लागेका हुन् । अहिले यी तीन जनाको जोडी सिङ्गापुरमा घुमेर दिन कटाउने गरेको छ ।

नेपाली कांग्रेसबाट काभ्रे जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तीर्थ लामाको संरक्षणमा राजधानीमा गुन्डागर्दी गर्दै आएका दावा लामालाई नयाँ गृहमन्त्री जनार्दन शर्माको सार्वजनिक चेतावनीले तर्साएको छ । सोही डरका कारण दावा लामा डराएर सिङ्गापुरतिर भागेको उच्च सुरक्षा स्रोतको भनाइ छ ।

राजधानीमा जबरजस्ती असुली, अपहरण, ठेक्का पट्टा, कुटपिटलगायतका गैरकानूनी क्रियाकलापमा संलग्न हुँदै आएका दावा लामालाई अघिल्ला गृहमन्त्री विमलेन्द्र निधिले सांसद तीर्थ लामाको दवावमा संरक्षण गर्दै आएका थिए ।

माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्माले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आतंकित बनेका दावा लामा आफ्ना दुई साथीलाई काखीच्यापेर सिङ्गापुरतिर फरार भएको उच्च प्रहरी स्रोतको भनाइ छ । ती दुई साथी फुर्वा लामा र सञ्जीव तामाङले दावा लामाका गैरकानूनी कार्यमा सहयोग गर्दै आएको अपराध महाशाखा टेकुले जनाएको छ ।

दुई महिना अगाडि काठमाडौंको गौरीघाटमा अपरिचित व्यक्तिको गोली प्रहारबाट घाइते भएका दावा लामाको स्वास्थ्यमा सुधार भइसकेको छ । दावा लामाले आफूलाई गोली हान्ने समूहलाई पक्राउ गर्न र अनुसन्धानमा असहयोग गरेको प्रहरीको भनाइ छ । सो घटनाका दोषी पक्राउ पर्दा आफू पनि फस्ने डरले दावा लामाले अनुसन्धानमा असहयोग गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org