ताजा समाचार

भारतीय सीमा सर्भे टोलीले पुनर्बासमा रहेको सीमा स्तम्भ नम्बर १९९ रातारात मेटायो

कञ्चनपुर, ३० जेठ । भारतले कञ्चनपुरको पुनर्वासको आनन्द बजार क्षेत्रमा रहेको सीमा स्तम्भ नम्बर १९९ रातारात मेटाएको छ । भारतीय सीमा सर्भे टोलीले रातारात उक्त सीमा स्तम्भ नम्बर मेटाएको हो । यसअघि सो स्तम्भ मुख्यस्तम्भ मानिदैं आएको थियो । गोविन्द गौतमले सहादत प्राप्त गरेपछि थालिएको सीमा सर्भेका क्रममा सो स्तम्भ नक्कली ठहरिएपछि भारतीय पक्षले त्यसको नम्बर मेटाएको हो ।

केही दिन अघिसम्म १९९ नम्बर सीमास्तम्भ लेखिएको प्रष्ट देखिन्थ्यो तर अहिले सो सतम्भको नम्बर मेटिएको छ । भारतीय पक्षले नम्बर मेटेको नेपाली पक्षले बताएका छन् । धारिलो औजार प्रयोग गरी नम्बर मेटाइएको देखिन्छ । बर्षौँदेखि लेखिएको नम्बर भारतीय पक्षले रातारात मेटाएको स्थानीय राजु शाहीले बताए ।

नेपाली नापी टोलीका प्राविधिक कासिलाल चौधरीले भारतले १९९ लाई मुख्य स्तम्भ मान्दै आए पनि संयुक्त सर्भेका क्रममा त्यो रिफरेन्स पिल्लर मात्रै भएको पाइएको बताएका छन् । नक्कली सीमा स्तम्भ भेटिएपछि सीमारेखा ५ सय मिटर दक्षिणतर्फ सर्ने अवस्था आएको नेपाली टोलीको भनाई छ । सीमारेखा परिवर्तन गर्न भारत तयार नहुँदा नेपाली टोलीले शनिबार मध्यरातमा पुनर्वास छोडेका थियो ।

१९९ नम्बर स्तम्भ खडा भएपनि २०० नम्बर भने भारतले २०३२ सालतिर उखेलेर फालेको स्थानीय शेरबहादुर बिकले बताए । भारतीय सुरक्षाकर्मीले गोविन्द गौतममाथि गोली प्रहार गर्दै हत्या गरेपछि नेपाली र भारतीय पक्ष सीमा सर्भे गर्न तयार भएको थियो । चैत्रबाट सीमा सर्भे टोली गठन गरेर नेपाल र भारत दुवै पक्षका टोली फिल्डमा खटिएका थिए ।

नेपाली पक्षले गत शनिवारदेखि काम छोडेर फिर्ता भएको थियो । वर्षाद लागेका कारण देखाउँदै नेपाली सर्भे टोली फिर्ता भएको थियो । तर त्यसको कारण भने वर्षाद नभएर भारतीय पक्षको दवाव रहेको बुझिएको छ । सर्भेका क्रममा पाँच सय मिटर भूभाग भारततर्फ जाने देखिएपछि भारतीय पक्षले नेपाली पक्षलाई दवाव दिँदै आएको थियो । भारतले नेपाली पक्षलाई वार्ताको लागि पटक पटक बोलाएको थियो । नेपाली पक्षले माथिबाट आदेश नआएको भन्दै वार्तामा वस्न अस्वीकार गर्दै आएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org