ताजा समाचार

विजय जुलुसमा एमालेले आक्रमण गर्दा माओवादी केन्द्रका ८ कार्यकर्ता घाइते

अछाम, १६ असार । नेकपा माओवादी केन्द्रको बिजय जुलुसमाथि एमालेका कार्यकर्ताले ढुंगामुडा प्रहार गर्दा अछामको रामारोशनमा माओवादीका आठ बढी कार्यकर्ता घाइते भएका छन् । घाइते मध्ये दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

रामारोशन गाउँपालिकाको वडा नम्बर १ मलातिकोटमा माओवादी केन्द्रले वडा अध्यक्षसहित पुरै प्यानलसहित विजयी भएपछि निकालिएको जुलुसमा एमाले कार्यकर्ताले ढुंगामुडा प्रहार गरेका थिए । मतगणना स्थलबाट विजय जुलुस निकालेर गाउँ फर्किने क्रममा एमालेका कार्यकर्ताले ढुंगामुडा प्रहार गरेको माओवादी केन्द्रको उप प्रमुख पदका उम्मेदवार सरस्वती रावलले जानकारी दिए ।

हिजो राती भएको उक्त घट्नामा परी सुरत साउँद, टेकबहादुर विक, श्याम विक, टेकबहादुर साउद, कमल साउद, पुरन साउद, कृष्ण साउद र बम बहादुर साउद घाइते भएको माओवादी केन्द्रले जनाएको छ । घाइतेमध्ये सुरत साउद र टेकबहादुर विकलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

घाइते दुबैको टाउको र शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
अन्य घाइतेको गाउँमै उपचार भइरहेको स्थानीय पुष्प बिष्टले जानकारी दिए । घट्नामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जना एमाले कार्यकर्तालाई नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए । घटना पछि केहि समय मतगणना स्थगित भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org