ताजा समाचार

सप्तरीमा वर्षासँगै आएको बाढीले १५ सय बढी घर डुबानमा, एक प्रहरी हवलदारको मृत्यु

सप्तरी, १८ असार । वर्षासँगै आएको बाढीले सप्तरी डुबानमा परेको छ । शुक्रबार रातभरको वर्षापछि आएको बाढीले सप्तरीका विभिन्न गाउँपालिका र नगरपालिकाका १५ सयभन्दा बढी घर डुबानमा परेका हुन् ।

बाढीले कम्तीमा २ सय ३६ घर बगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । भन्सार, प्रहरी पोस्टलगायत सरकारी कार्यालयसमेत जलमग्न भएका छन् । बाढीले विभिन्न खोलाका तटबन्ध क्षति पुर्‍याउँदा भेल बस्तीमा पस्ने क्रम रोकिएको छैन ।

कोसीको भंगालोमा सशस्त्र प्रहरीका एक हवलदारको शव भेटिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय, राजविराजका एसपी रामाधार यादवका अनुसार इलाम घर भई सशस्त्र प्रहरी बीओपी तिलाठीस्थित बेल्ही भन्सारमा कार्यरत सहायक हवलदार सुमन आचार्यको डुबेर मृत्यु भएको हो । शनिबारै लौनिया बस्तीनजिक आडो खोलाको बाढीले ल्याएको एक बेवारिस शव फेला परेको स्थानीय गजेन्द्र मण्डलले जानकारी दिए ।

महुली खोलाको बाढीले सप्तरीको त्रिकौलका १५०, तिरहुत गाउँपालिका–५ भेडियाका ७० र दुधैला खोलाको बाढीले रूपनी गाउँपालिका–६ वीरेन्द्रबजारका ६ घर बगेका छन् । रूपनी बसबिटीको ४ किलो भन्ने स्थानमा खाडो खोलाको बाढी पस्दा बस्ती जलाम्य भएको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि जलमग्न भएको स्थानीयले बताएका छन् ।

तिलाठीमा ३ सय घर जलमग्न भएको तिलाठी कोइलाडी–८ का मिथलेश झाले जनाए । तिलाठी कोइलाडी गाउँपालिकाकै बेल्हीका १ सय ५० घर र सकरपुराका ५० घरमा पानी पसेको छ । तिलाठी गाउँपालिकाको कार्यालय, वडा नम्बर ८ को कार्यालय तथा तिलाठी स्वास्थ्य चौकीसमेत डुबानमा परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org