ताजा समाचार

के तपाई सवारीलाई जथाभावी दायाँतर्फ मोड्दै हुनुहुन्छ ? सावधान कारबाहीमा पर्नुहोला !

काठमाडौं, १९ असार । अब काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दाँया मोड्न नपाईने भएको छ । सवारी व्यवस्थापन तथा बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न यस्तो व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ । दायाँ मोड्न नपाइने व्यवस्था पहिलेदेखि नै लागू गरिएको भएपनि कडाई गरिएको थिएन् । अब ट्राफिक प्रहरीले यो ब्यवस्थामा पनि कडाइका साथ लागू गराउने भएको हो ।

अब लेन अनुशासनलाई थप कडाइ गर्न सवारीलाई जथाभावी दायाँतर्फ मोड्न बन्द गर्ने निर्णय भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मिङ्मार लामाले जानकारी दिए । अहिले सवारी गइरहेको साइडभन्दा पारिपट्टीको बाटो प्रयोग गर्न विपरीत लेन हुँदै सवारी क्रस गरेर जाने प्रचलन छ । सवारी फर्काउन पनि विपरित लेनमा जथाभावी दायाँ मोड्ने गरिएको छ ।

तर, अब नयाँ नियम लागू गरेर यसमा कडाइका साथ रोक लगाइनेछ । सवारीहरुले ट्राफिक आइल्याण्डबाट मात्रै राइटसाइड मोड्न सक्नेछन् । जथाभावी दायाँ मोड्न दिँदा सवारी जाम बढेको र ट्राफिकलाई पनि हैरानी भएको ट्राफिक प्रहरीको दाबी छ । ट्राफिकले त्रिपुरेश्वर-कालिमाटी सडकको कनक पेट्रोल पम्प र नयाँ बाटोमा दायाँ मोड्न निषेध गरेको छ भने माइतिघर-कृष्णपाउरोटी सडकको कुमारी मोड र शंकरदेव मोडमा दाया मोड्न पाइने छैन ।

नयाँबानेश्वरतिर जाँदा पुरानोबानेश्वर सडकबाट भिमसेनगोला जान निषेध गरिएको छ भने कान्तिपथको ज्याथा गल्ली, हनुमानस्थान, इनारमोड, कानदेवतास्थान, बखुन्डोल, दमकल मोडमा दायाँ मोड्न नपाइने भएको छ । छातेगणेश, न्यूरोड पिपलबोट, अमृत साइन्स क्याम्पस, सोह्रखुट्टे ओरालो, बाँसघारी, कुमारी मन्दिर र ज्ञानेश्वर ओरालोमा दायाँतर्फ मोड्न नपाइने भएको छ । एयरपोर्टबाट आएको सवारी सिनामंगलमा राउण्ड लिनेछन् ।

त्यसैगरी काठमाडौं उपत्यकामा थप ‘वान-वे’ तय गरिएको छ । सडकमा एकतर्फमात्रै जान पाइने गरी थप ‘वान-वे’ तय भएको हो । अब राष्ट्रपति कार्यालय पर्खाल भएर हेवी सवारी भित्र जान पाउने छैनन् । मैतीदेवी चोकबाट मन्दिरतर्फ जान निषेध गरिएको छ भने स्वयम्भू चोकबाट आनन्दकुटी, भगवानपाउ किमाडोल हुँदै जान पाइने गरी स्वयम्भू चोकबाट किमाडोल भएर छाउनीतर्फ आउन नपाइने ब्यवस्था गरिएको छ ।

खिचापोखरीबाट एभरेष्ट बैंकतर्फ जान पाइने छैन भने सातदोबाटोबाट चापागाउँ मोडतिर जान पनि निषेध गरिएको छ । बाटुलेघर हुँदै चारखालतर्फ जान पाइने छैन । त्यस्तै कृष्णपाउरोटी चोकबाट बैंक अफ काठमाण्डुपट्टी जान गल्लीको बाटो खुलाइएको छ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्न भन्दै जथाभावी बाटो काट्ने यात्रुलाई समेत कारवाही तथा ट्राफिक जनचेतना दिँदै आएको छ ।

काठमाडौंमा हर्न बजाउन निषेध गराएको छ । हर्न बजाउन निषेध अभियान सफल भएपछि ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने यात्रुलाई समेत कारवाही थालेको थियो । उक्त अभियानले समेत सफलता पाएपछि ट्राफिक प्रहरीले अन्य व्यवस्थाहरुलाई कडाई गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org