ताजा समाचार

मुग्लिन–नारायणगढ सडकखण्ड साँझ ६ देखि बिहान ५ बजेसम्म दैनिक ११ घण्टा बन्द हुँदै

काठमाडौं, २१ असार । सरकारले यही सातादेखि लागू हुने गरी दैनिक ११ घन्टा मुग्लिन–नारायणगढ सडकमा सवारी आवागमन बन्द गर्ने भएको छ । साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भएको सडक विभागले जनाएको आजको नयाँ पत्रिकामा खबर छ ।

सडक निर्माण कार्यलाई तीव्रता दिने भन्दै रात्रि समयमा आवागमनमा रोक लगाइएको हो । ‘चितवन प्रशासनसँग यस विषयमा छलफल सुरु गरिएको छ, भोलि वा पर्सिदेखि रात्रि यातायात सेवालाई पूर्ण रूपमा बन्द गरिनेछ,’ विभागका उपमहानिर्देशक तथा मुग्लिङ–नारायणगढ सडक आयोजनाका संयोजक सञ्जयकुमार श्रेष्ठले भने ।

६ जनाको मृत्यु, ४० घन्टा सडकमै बास
सो सडकखण्डमा पहिरोका कारण यो वर्षको तीन महिनामा ६ जनाको ज्यान गइसकेको छ । देशकै सबैभन्दा धेरै ट्राफिक हुने यो सडकमा दैनिक १४ हजार सवारीसाधन गुड्ने गरेको तथ्यांक छ । यात्रुले ४० घन्टासम्म सडकमै बिताउनुपर्ने बाध्यता पनि छ ।

राती सडक बन्द गर्न विकास समितिको निर्देशन
संसद्को विकास समितिले मुग्लिन–नारायणगढ सडक डेढ महिनासम्म राति बन्द गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले सडक विस्तारका क्रममा आवागमन असहज हुनुका साथै नजिकै रहेका बस्तीमा पहिरोको जोखिम बढेको समितिले निष्कर्ष निकालेको छ ।

बैठकले सडकखण्डमा थप सडक सुरक्षाको प्रवद्र्धन गर्न निर्देशन दिएको छ । त्यस्तै, सडकखण्ड विस्तारलाई द्रुतगतिमा लैजान र सन् २०१७ भित्रै निर्माण सम्पन्न गरिसक्न समितिले निर्देशन दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org