ताजा समाचार

नक्कली नागरिकताबाट सिमकार्ड बाँड्दा अपराध बढ्यो, अपराध प्रहरी नियन्त्रण बाहिर जाने संकेत

काठमाडौं, २१ असार । सिमकार्ड दुरुपयोग नभएको भए दाङका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणको अनुसन्धान गर्न प्रहरीलाई तीन साता लाग्ने थिएन । अपहरणकारीले अरूको नाममा सिमकार्ड निकालेर प्रयोग गरेका थिए । खबर आजको नयाँ पत्रिकामा छ । जसका कारण प्रहरीलाई अनुसन्धान गर्न ठूलै सकस भयो । ‘अपहरणको योजनाकै लागि उनीहरूले अरूको नागरिकताबाट सिमकार्ड निकालेको देखिन्छ,’ दाङका एसपी धीरजप्रताप सिंह भन्छन्, ‘सीमकार्ड वितरण व्यवस्थित नहुुँदा अनुसन्धानमा निकै समस्या भयो ।’

तुलसीपुरका टीकाराम घर्तीले आफ्नै २० वर्षीया छोरी पूजा घर्तीमगरलाई प्रयोग गरी व्यवसायी श्रेष्ठको अपहरण गरी हत्या गरेका थिए । अपहरणकै उद्देश्यले उनीहरूले नचिनेका व्यक्तिहरूको नागरिकताको फोटोकपी प्रयोग गरेको प्रहरीले जनाएको छ । गत २६ जेठमा श्रेष्ठको अपहरण भएकोमा ११ असारमा मात्र अपहरणकारी पक्राउ परेका थिए ।

अपहरणका मुख्य योजनाकार अझै फरार छन् । पेसेवर आपराधिक समूहबाट हुने धेरैजसो योजनाबद्ध अपराध यसैगरी अन्य व्यक्तिको नाममा सीमकार्ड निकाल्ने गरिएको छ । सीम वितरणमा अपनाइएको सहज प्रक्रियाका कारण दुरुपयोग बढेको हो । यसले अपराध नियन्त्रणमा समस्या भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

शुक्रे लामाको समूहसँग दुई दर्जन सिमकार्ड
‘हनी ट्र्यापिङ’ अर्थात् सुन्दर युवती प्रयोग गरी अपहरण गरी पैसा असुल्दै आएको शुक्रे लामाको समूहले अन्य व्यक्तिको नाममा दुई दर्जन सिमकार्ड निकालेको थियो । त्यही सिमकार्डबाट व्यापारीलाई फोन गर्दै नजिकिएर अपहरण गर्दै आएका थिए । अनुसन्धानका क्रममा रसुवाको एक गाउँमा कार्यरत महिलाको नागरिकताबाट उनीहरूले सिम निकालेको खुल्यो । जसकारण अपहरणका गिरोहसम्म पुग्न प्रहरीलाई निकै समस्या भयो । घटनाको ६ महिनापछि सिआइबीले गिरोहका ६ जनालाई पक्राउ गरेको थियो ।

‘जभाभावी सिम वितरणले सुरक्षामा ठूलै समस्या निम्त्याएको छ,’ सिआइबीका निमित्त प्रमुख एसएसपी शेरबहादुर बस्नेत भन्छन्, ‘यस्तै हो भने अपराध प्रहरी नियन्त्रणबाहिर जान्छ ।’ सिम वितरणलाई व्यवस्थित गर्न आफूहरूले लामो समयदेखि पहल गर्दै आए पनि सम्बन्धित निकायले चासो नदिएको उनी बताउँछन् । सिम बिक्री गर्दा सम्बन्धित व्यक्तिको विस्तृत विवरणसहित अर्को एक सम्बन्धित व्यक्तिको विवरणसमेत राख्नुपर्ने उनी बताउँछन् ।

पछिल्लो केही समययता पसल–पसलबाट सिमकार्ड बिक्री हुँदै आएको छ । नागरिकताको फोटोकपीकै आधारमा सजिलै सिमकार्ड किन्न पाइन्छ । कतिसम्म भने नागरिकता सक्कली हो कि नक्कली भन्नेसमेत कुनै ‘क्रसचेक’ हुँदैन । अरूको भेट्टाएको नागरिकताबाट पनि सजिलै सिमकार्ड निकाल्न सकिन्छ । एउटा नागरिकताको फोटोकपीका आधारमा जति पनि सिमकार्ड निकाल्न सकिन्छ ।

सिमकार्ड दर्ता र वितरण प्रणाली खुकुलो हुँदा अपराधीलाई सहज भएको छ भने अपराध नियन्त्रण गर्न प्रहरीलाई समस्या भएको छ । खासगरी अपहरण, धम्की, ठगीजस्ता अपराधमा नक्कली नागरिकताबाट निकालिएका सिमकार्ड प्रयोग हुन थालेको प्रहरीले जनाएको छ । कल बाइपासका लागि समेत यसरी एउटै नागरिकताबाट सयौँ सिमकार्ड निकालिएका उदाहरण छन् । धेरैजसो एनसेलका सिमकार्ड अपराधमा दुरुपयोग हुने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org