ताजा समाचार

देउवाले संशोधनमा सघाउनुपर्‍यो भन्दा ओलीले भने, ‘सबै चुनावसम्म केही गर्दैनौं’

काठमाडौं, २७ असार । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन बसेको प्रमुख तीन दलको बैठक निष्र्कषविहीन भएको छ । बालुवाटारमा बसेको सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको बैठकमा दलहरुले आ आफ्नै अडान कायम राखेका थिए ।

संविधान संशोधनका लागि सघाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव एमालेले ठाडै अस्वीकार गरेपछि बैठकमा सहमति जुट्न सकेन् । बैठकमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन गर्नु पर्ने बताए । उनले संसदमा विचाराधीन संशोधन विधेयक पास गर्न सहयोगका लागि विपक्षी एमालेलाई आग्रह गरेका थिए ।

तर, एमालेले देउवाको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै चुनावसम्म संशोधनलाई स्थगित गर्नुपर्ने र त्यसपछि खुला छलफल गर्न सकिने बताए । एमालेका शीर्ष नेताहरुले नै यसअघि स्थानीय चुनावपछि छलफल गर्न सकिने बताउँदै आएका थिए । तर, मंगलबारको बैठकमा प्रदेश र केन्द्रको चुनाव सकेपछि मात्र यसबाट छलफल गर्न सकिने भन्दै अहिले संशोधनमा सहमति जनाउन नसक्ने बताए ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन विकल्प अघि सारेका छन् । प्रचण्डको पहिलो विकल्प दलहरुको सहमतिमै संशोधन प्रस्ताव बनाउने र पास गर्नेछ । त्यस्तै दोस्रो विकल्प अहिलेकै प्रस्तावलाई भोटिङमा लैजाने, सबैले परिणाम स्वीकार गर्ने, चुनावसम्म तेस्रो संशोधन प्रस्ताव होल्ड गर्ने र राजपालाई चुनावमा ल्याउन आवश्यक अन्य सबै माग पुरा गर्ने उनको प्रस्ताव छ । तर, शीर्ष नेताहरुको बैठकमा कुनै सहमति हुन सकेन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org