ताजा समाचार

शिक्षकको मृत्यु रहस्यमय, अब सिआइवीले अनुसन्धान गर्ने


पर्वत, ४ साउन । झण्डै एक महिना बेपत्ता रहेपछि मृत भेटिएका कुश्मा–१ पाङका शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै गएको छ । पौडेलको मृत्युको वास्तविक कारण खुल्न सकेको छैन । गएको जेठ २५ गतेदेखि बेपत्ता २० वर्षीय पौडेलको शव असार ७ गते बागलुङको जैमिनी नगरपालिका बेलबगरस्थित कालीगण्डकी किनारमा भेटिएको थियो ।

बेवारिसे अवस्थामा भेटिएको शव शिक्षक पौडेलको भएको पुष्टि डिएनए परीक्षण र शव परीक्षण रिपोर्टबाट भएको थियो । शिक्षक पौडेलको मृत्यु घाँटीमा लागेको चोटका कारण भएको शव परीक्षणबाट आएपछि उनको हत्या भएको हुनसक्ने भन्दै परिवार र आफन्तले अपराधी तत्काल पत्ता लगाउन प्रहरीलाई दबाब दिँदै आएका छन् ।

घटना घटेको लामो समय भइसक्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै पर्वतका विभिन्न शिक्षक संगठनले पनि संयुक्त विज्ञप्ति निकालेर तत्काल अनुसन्धानलाई तीव्रता दिन प्रहरीलाई दबाब दिएका छन् । प्रहरीले शिक्षक पौडेलले पढाउँदै आएको आइबल एकेडेमीका प्रधानाध्यापक विमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

लामो समयसम्म पनि रहस्य खुल्न नसकेपछि प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को सहयोग लिने भएको छ ।अहिले मिसिलको अध्ययनमा रहेको सिआइबी मिसिल अध्ययन गरिसकेपछि पर्वत आउने प्रहरी नायब उपरीक्षक (डिएसपी) शेखर खनालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org