ताजा समाचार

क्यासिनो तालिमको लागी श्रीलंका उड्न लागेका आठ नेपाली युवती अध्यागमनबाटै फिर्ता

काठमाडौं, ६ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आठ नेपाली युवतीलाई फिर्ता (अफ लोड) गरेको छ । गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको तालिम लिन हिँडेका आठ युवतीको यात्रा शंकास्पद भएको भन्दै अध्यागमनले फिर्ता गरेको आजको अन्नपूर्ण पोस्टमा खबर छ । अध्यामगन कार्यालयले सबिना कार्की, सिर्जना तामाङ, निर्मला लामा, नमुना केसी, चन्द्रा काफ्ले, सिर्जना गुरुङ, उर्मिला गुरुङ र विमला भण्डारीलाई श्रीलंका भ्रमणको उद्देश्य स्पष्ट नभएको भन्दै प्रस्थान अनुमति रोकेको हो ।

पछिल्लो समय मानव तस्करहरूले नेपाली युवतीलाई कुवेत, साउदीलगायतका खाडी मुलुक पठाउन श्रीलंकालाई ‘ट्रान्जिटु बनाउने गरेका छन् । भारतको अध्यामगनले समेत कडाइ गर्न थालेपछि तस्करहरूले श्रीलंकालाई ट्रान्जिट बनाएका हुन् । ती युवती क्यासिनोको तालिम लिन नभई क्यासिनो खेलाउन श्रीलंका जान लागेको स्रोतले बताएको छ ।

गत वर्षसमेत अध्यामगनले क्यासिनो खेलाउन श्रीलंका हिँडेका सात युवतीलाई विमानस्थलबाटै फिर्ता गरेको थियो । अध्यागमन स्रोतका अनुसार राम्रो काम पाए उतै बस्ने योजनासहित ती युवती क्यासिनो खेलाउन श्रीलंका हिँडेको र पछि उतैबाट अन्य मुलुक जाने ती युवतीको तयारी थियो ।

दुईवटा बोर्डिङपास लिएकी गिरी पक्राउ

यसैबीच विमानस्थल प्रहरीले बिहीबार भिजिट भिसामा कुवेत हिँडेकी शोभा गिरीलाई अध्यागमन पार गरेपछि पक्राउ गरेको छ । मानव तस्करको सेटिङमा कुवेत हिँडेकी गिरीले जेट एयर र एयर अरेबियाको बोर्डिङ पास लिएकी थिइन् । एयर अरेबियाको बोर्डिङ पास लुकाएर गिरीले भारत जाने भन्दै नागरिकता देखाएकी थिइन् । श्रम स्वीकृतिसमेत नक्कली भएको आशंकामा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

भारतको दिल्लीमा छोराछोरी र श्रीमान बस्ने भएकाले उनीहरूलाई भेट्न जाने भन्दै नागरिकता देखाएर अध्यामगनबाट उनी फुत्किएकी थिइन् । उनले दिल्लीसम्मको जेट एयरको टिकट काटेकी थिइन् । अध्यागमन पार गरेपछि गिरी जेट एयर नचढी एयर अरेबियाको जहाज चढ्न लागेकी थिइन् । विमानस्थल प्रहरीले उनीसँग दुईवटा बोर्डिङ पास भएको गोप्य सूचना पाएपछि पक्राउ गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org