ताजा समाचार

भदौ १ बाट रिंगरोडमा मालबाहक गाडीलाई प्रवेश निषेध गरिने, नाका बाहिरै पार्किङस्थल तोकियो

काठमाडौं, २६ साउन । भदौ १ गतेबाट काठमाडौंको रिंगरोडमा सबै मालबाहक सवारी गुड्न प्रतिबन्ध लाग्ने भएको छ । सरकारले भदौ १ गतेबाट ट्रक, मिनी ट्रक, टिप्पर लगायत सबै मालबाहक सवारी साधनलाई रिंगरोडमा गुड्न प्रतिवन्ध लगाउने भएको हो । विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडमा मालबाहक सवारी चल्न रोक लगाउने निर्णय भएको यातायात ब्यवस्था विभागले जनाएको छ । पेट्रोल, ग्यास, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू हुने छैन ।

बिहीबार ट्राफिक प्रहरी महाशाखामा बसेको ट्राफिकका प्रमुख सर्वेन्द्र खनाल र यातायात विभागका पुनःनियुक्त महानिर्देशक रुपनारायण भट्टराईसहितका उच्च अधिकारीको बैठकले यस्तो निर्णय गरेको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । अब उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थल तोकिएको छ । अब तोकिएको अवधिभन्दा अघि आउने सवारीले तोकिएको पार्किङ क्षेत्रमा राख्नुपर्नेछ ।

पृथ्वीराजमार्ग हुँदै आउने मालबाहक सवारीलाई नौबिसेमा पार्किङ गराइनेछ । त्यस्तै गोदावरीतर्फबाट आउनेले धापाखेलमा पार्किङ गर्न पाउने छन् भने अरनिको तथा वीपी राजमार्गबाट आउने सवारी साधनलाई बनेपामा नै रोकिनेछ । नुवाकोट तर्फबाट आउने मालबाहक सवारीलाई झोर र मुडेमा रोकिनेछ । दक्षिणकाली नाका भएर आउने ट्रकरटिप्परलाई पनि पार्किङ स्थल तोकिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

अहिलेसम्म टिप्परलाई मात्रै रिंगरोडमा निषेध गरिएको छ । अब भने ट्रक र मिनी ट्रक पनि रिंगरोडमा तोकिएको समय अवधिभित्र प्रवेश गर्न पाउने छैनन् । यसअघि ट्रकलाई रिंगरोडमा आउन समय हेर्नुपर्ने अवस्था थिएन । अब भने ट्रक र टिप्परहरु ट्राफिकले तोकेको स्थानमा पार्किङ गरी बेलुका ७ बजेपछि मात्रै रिंगरोडमा आउन पाउने छन् । बेलुका ७ बजेपछि बिहान ८ बजेसम्म रिंगरोडभित्र आउन पनि उनीहरुलाई निषेध नगरिने प्रवक्ता पाण्डेले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org