ताजा समाचार

वन गस्ती टोलीले १० राउण्ड गोली चलाएपछि काठ तस्करी भागे

रौतहट, २७ साउन । रौतहटमा हिजोआज काठ तस्करले भारतीय सवारीसाधनको प्रयोग गरेर काठ तस्करी गरिरहेको पाइएको छ । बिहीबार राति तस्करले काठ तस्करी गर्ने क्रममा एउटा भारतीय नम्बरको सवारीसाधन छाडेर भागेका छन् । भारतीय युपी ४१ एटी ३८१२ र नेपाली ना ३ च ६१५० नम्बरको प्लेट रहेको पिकअप भ्यान छाडेर भागेका हुन् ।

वन कार्यालयको वन गस्तीले बिहीबार राति गोली चलाएपछि मात्र काठ तस्करले काठ सहितको पिकअप भ्यान छाडेर भागेका थिए । जिल्लाको वृन्दावन गाउँपालिका अन्तर्गतको विश्रामपुरबाट वन गस्ती टोलीले १० राउण्ड गोली चलाएपछि काठ सहितको एक थान पिकअप भ्यान नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

वन गस्ती टोलीले वृन्दावन गाउँपालिकाअन्तर्गत विश्रामपुरबाट एउटै गाडीमा दुईवटा नम्बर प्लेट भएको पिकअप भ्यानमा रहेको ६ थान सालको गोलियासहित नियन्त्रणमा लिएको हो ।

पूर्व–पश्चिम मुख्य राजमार्गबाट वन प्रवेश गरेको गाडीलाई वन गस्ती टोलीले पछ्याउँदै जाने क्रममा काठ तस्करले काठ सहितको पिकअप भ्यान नरोकेपछि १० राउण्ड गोली चलाएर सो भ्यान नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय रौतहटका वन अधिकृत दीर्घनारायण कोइरालाले बताए । उक्त पिकअप भ्यानबाट ६० क्युफिट बराबरको ६ थान गोलिया बरामद गरिएको र तस्कर भने फरार रहेको वन अधिकृत कोइरालाले जानकारी दिए ।

पछिल्लो समयमा वनभित्र तस्करले पिकअप भ्यान नै लगेर काठ लैजाने गरेको छ । ट्रक, पिकअप भ्यान, ट्याक्टर, टायरगाडा, मोटरसाइकल र साइकलका माध्यमबाट तस्करले वनबाट काठ लैजाने गरेको पाइएको छ । जिल्ला वन कार्यालय, रौतहटले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/७४ मा पिकअप भ्यान दुई, ट्याक्टर आठ, टायरगाडा तीन, मोटरसाइकल चार र साइकल २९ थान बरामद भएको छ ।  रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org