ताजा समाचार

जागिर नपाएपछि पाइलटले पेट्रोलपम्प खोले

काठमाडौं, ३० साउन । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य भएको खबर आजको अन्नपूर्णमा छ । नेपालगञ्जका अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन्। पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपैयाँ खर्च गरे ।

सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न परिवारका अभयले डेढ वर्ष लगाएर अस्ट्रेलियाबाट पाइलट कोर्स अध्ययन गरी नागरिक उड्डयन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन पाएनन् ।

अभयले सन् २००८ मा पाइलट कोर्स पढेर फर्कदा नेपाली ध्वजावाहक नेपाल एयरलाइन्स बन्द प्रायः थियो । नेपाल एयरलाइन्सका जहाज बिग्रेर थन्किएका थिए । बुद्ध र यतीमा जागिर खाने प्रयास गरे पनि अभयले सकेनन् । ‘जागिरको खोजिमा लागेँ, तरु पाइनँ,’ अभय भन्छन्,‘ नेपाल एयरलाइन्स बन्द थियो। बुद्ध र यतीमा जागिर पाइएन।’ मागभन्दा धेरै पाइलट उत्पादन भएपछि जागिर नपाएको उनको भनाई छ।

पाइलटको लाइसेन्स अवधि ६ महिनामात्रै हुने गरेको छ। जागिर खोज्दा खोज्दै उनको ६ महिना अवधि सकिहाल्यो । आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि उनलाई फ्रस्टेसनसमेत भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले । ६ वर्षदेखि उनले नेपालगञ्जको वीपी चोकनजिक भेरी प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पम्प सञ्चालन गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org