ताजा समाचार

धुर्मुस बाढी पीडितको उद्धारमा व्यस्त, प्रधानमन्त्री तथा मन्त्रीहरु अनुगमनको नाममा रमिता हेर्नमा मस्त

काठमाडौं, ३१ साउन । यतिबेला पुरै देश प्राकृतिक विपत्तिमा डुबेको छ । तराईमा बाढी तथा पहाडमा पहिरोले ठूलै धनजनको क्षति पुर्‍याएको छ । गृहमन्त्रालयको तथ्यांकअनुसार अहिले सम्म ११५ जनाको ज्यान गईसकेको छ । तराई क्षेत्रमा बाढीले निकै समस्या गरेको छ । बाढी पीडितहरु एकसातादेखि भोकभोकै बस्न बाध्य छन् । उनीहरु राहतको पर्खाईमा बसिरहेका छन् ।

विभिन्न संघसंस्थाले केही मात्रामा भएपनि राहत सामाग्रीहरु पीडित सम्म पुर्‍याउने काम गरिरहेका छन् । सरकारी संयन्त्र कमजोर हुँदा बाढी पहिरो पीडितले राहत पाउन निकै समय कुर्नुपर्ने अवस्था आएको छ । सोमबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा लगायत सरकारी अधिकारीहरु बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमनमा गए ।

अनुगमन गर्दा उनीहरुले बाढी पहिरो प्रभावितको रमिता हेर्न बाहेक अरु केही गर्न सकेनन् । यता निकै चर्चामा रहेका हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) भने आफ्नो ज्यानको बाजी थापेर भएपनि बाढी पीडित क्षेत्र तराईमा राहत तथा उद्धारमा अहोरात्र खटिएका छन् । उनले महोत्तरीको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपीडितलाई राहत वितरण गर्नुका साथै उद्धारमा खटिए ।

यतिबेला सामाजिक सञ्जालले पनि निकै प्राथमिकता पाएको छ । बाढी पहिरो सम्बन्धिका गतिविधिले सामाजिक सञ्जालमा भित्ताहरु भरिएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले धुर्मुसले गरिरहेको कामको खुलेरै प्रशंसा गरिरहेका छन् ।

भने सरकारका मन्त्रीहरु अनुगमन गर्न समेत हेलिकोप्टरमा गएको प्रति आक्रोशित छन् । धुर्मुसले बाढी पीडितको उद्धार गरिरहेको र प्रधानमन्त्री देउवा, गृहमन्त्री शर्मा लगायतका अधिकारीहरु रमिता हेरेर बसिरहेका तस्बिरहरु निकै चर्चामा छन् । फोटोः सामाजिक सञ्जालबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org