ताजा समाचार

सर्वोच्चको गल्तिले बालकृष्ण ढुंगेल जेलमुक्त हुनसक्ने सम्भावना !

काठमाडौं, १७ कात्तिक । सर्वोच्च अदालतको फैसलामा गम्भीर त्रुटि फेला परेको छ । उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा सर्वोच्चले जन्मकैदको सजाय सुनाएका माओवादी नेता बालकृष्ण ढुंगेल प्रकरणमा गम्भीर
त्रुटि भेटिएको हो ।

हत्या गरिएको भनिएका उज्जनकुमार श्रेष्ठको पोष्टमार्टम रिर्पोट विनै सर्वोच्चले फैसला सुनाएपछि यस्तो त्रुटि फेला परेको हो । सर्वोच्च अदालतले द्न्वद्वकालिन घटनामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको ८ वर्षपछि ढुंगेल मंगलबार ललितपुरबाट पक्राउ परेर सदरखोरमा जेल सजाय काटिरहेका छन् ।

यद्यपि ढुंगेललाई सर्वोच्चका तत्कालिन न्यायाधीशहरु तपबहादुर मगर र राजेन्द्रप्रताप कोइरालाको संयुक्त इजलासले सुनाएको सर्वस्वसहित जन्मकैदको फैसलामा गम्भीर त्रुटि फेला परेको हो । ढुंगेललाई सरकारी वकिलको दाबीअनुसार सर्वोच्चले कर्तव्य ज्यानसम्बन्धी महलको १३ (१) (सर्वस्वसहित जन्मकैद) अनुसार कारबाही गर्न आदेश दिएको छ ।

फैसला गर्ने क्रममा घटना भएको हो कि होइन भन्ने पुष्टि गर्ने प्रयास गरिएको छ । त्यसमा उज्जनकुमारको शवको पोष्टमार्टम रिपोर्टले उनको हत्या भएकोपुष्टि गरेको जिकिर गरिएको छ । जबकि उज्जनकुमारको शव अहिलेसम्म फेला परेको छैन । उनकी दिदी सावित्री श्रेष्ठले समेत आफ्ना भाईको शव समेत गायब पारिएको बताउँदै आएकी छन् ।

फैसलामा अर्को पनि गम्भीर त्रुटि फेला परेको छ । हत्या भएको भनिएका व्यक्ति भुवन भनिने उज्जनकुमार हुन् । तर, न्यायाधीशको फैसलामा भुवनकुमार भनिने उज्वलकुमार लेखिएको छ । ‘फैसलामा भनिएको छ, ‘पोष्टमार्टम रिपोर्टबाट मृतक भुवनकुमार भनिने उज्वलकुमारको (उज्जन हुनुपर्नेमा) कर्तव्यबाट भएको भन्नेमा विवाद भएन ।’

‘अहिलेसम्म फेला नपरेको शवको अदालतले कसरी पोष्टमार्टम भयो भन्ने दाबी गरेको ?’, ढुंगेलका कानुन व्यवसायी अधिवक्ता सशीतराज मैनालीले भने, ‘मारिएको भनिएको व्यक्ति उज्जन हो, तर फैसलामा भुवन भन्ने उज्वलकुमार लेखिएको छ ।’ मैनालीले अदालतको फैसला गम्भीर त्रुटिपूर्ण भएको बताए ।

मैनालीले ढुंगेलसम्बन्धी सर्वोच्चको फैसला पुनरावलोकन गर्न सकिने बताए । तर, त्यसका लागि बालकृष्ण ढुंगेलले पुनरावेदन दिनुपर्छ । पुनरावलोकनको म्याद १ सय दिनको हुन्छ । ‘फैसलामा गम्भीर त्रुटि भएकाले सच्याई पाउँ भनी ढुंगेलले निवेदन दिन सक्छन्’, उनले भने ।

पुनरावलोकनमा गए फैसला सच्याउन सर्वोच्च बाध्य हुने जिकिर उनले गरे । ‘सर्वोच्चले पुनरावलोकन गर्न बाध्य हुनुपर्छ’, उनले भने, ‘पुनरावलोकनको विकल्पै छैन ।’ पुनरावलकोनबाट ढुंगेल रिहा हुनेमा मैनालीले विश्वास व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org