ताजा समाचार

चाउचाउ बिक्रीबाट मासिक दुई लाख आम्दानी

पाल्पा, ५ मंसिर । रामपुरका रुद्रनारायण श्रेष्ठले चाउचाउ उद्योगबाट अहिले मनग्य आम्दानी गर्दै आउनुभएको छ । एक दशक अगाडिदेखि रामपुरमा कालिका सिन्के चाउचाउ उद्योग शुरु गर्नुभएका श्रेष्ठले चाउचाउ बिक्रीबाट मासिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।

समाजमा सफल र प्रतिष्ठित उद्योगीका रुपमा उहाँ चिनिनुहुन्छ । रामपुरको बजार बढ्दै गएपछि अहिले सोचेभन्दा राम्रो व्यापार हुन थालेको उहाँको भनाइ छ । यहाँ उत्पादित चाउचाउ पाल्पा, स्याङ्जा र तनहुँका स्थानीय बजारमा खपत हुँदै आएको छ । उहाँले व्यवसाय बढाउँदै जाँदा अहिले यस क्षेत्रमा बाहिरबाट चाउचाउ भित्रने क्रममा कमी आएको छ ।

“दैनिक पाँच क्विन्टलसम्म चाउचाउ बिक्री हुन्छ,” उहाँले भन्नुभयो । चाउचाउ उद्योगमा अहिले १० जनाले रोजगारीसमेत पाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “विदेशको मरुभूमिमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर आफ्नो पेशा व्यवसायमा निरन्तररुपमा लागे महिनामा लाखौँ रुपैयाँ कमाउन सकिन्छ ।” उहाँ सामाजिक कार्यमा समेत निकै सक्रिय हुनुहुन्छ ।

शहरीकरणतर्फ उन्मुख हुदै गरेको रामपुर बजारमा आफ्नो उत्पादन पुयाउन उहाँलाई हम्मेहम्मे परेको छ । उद्योगी श्रेष्ठले जस्तै विदेश जान लागेका युवाले उद्यम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org