ताजा समाचार

आमा अझै त्रिशूलीमा बेपत्ता, १० महिने छोरा काखबाट छुटेर अस्पतालमा छट्पटाउँदै

चितवन, १५ मंसिर । बुधबार चुम्लिङटारमा बस त्रिशुलीमा खस्दा ८ जनाको ज्यान गयो । दुर्घटनामा एउटा १० महिने बालक भने संयोगले बाँचेका छन् । आमा अझै बेपत्ता रहेका बेला ती बालक यतिबेला भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत छन् । बस सडकबाट लगभग डेढ सय मिटर तल खसेको थियो । ती शिशु नदी किनारमा रुँदै गरेका भेटिएका थिए ।

ती शिशु को थिए ? धेरैले चासो लिए । आफन्तहरु खोज्दै आएपछि ती बालक काठमाडौंबाट अर्घाखाँचीको सन्धिखर्क जान बसमा आमासँगै आएको पत्ता लाग्यो । तर बुधबार र बिहिबार दिनभर खोज तलास गर्दा पनि आमाको अवस्था थाहा हुन सकेको छैन ।

बस दुर्घटना हुँदा आमाको काखबाट फुत्केर नदीको खोँचमा पुगे पनि सकुशल रहेका शिशु हुन् अर्घाखाँचीको सन्धीखर्क–३ बसपार्क घर भएका आर्यन थापा । उनी १० महिनाअघि जन्मेका हुन् । ‘जन्मदै खुट्टामा समस्या थियो । एक महिनाको भएपछि उपचार सुरु भएको हो । उसैको उपचारका लागि आमा मनिषा काठमाडौं गएकी थिइन् । घर फर्कदा यस्तो घटना भएछ’ बालककी ठुली आमा विष्णु थापाले भनिन्।

बालकको भरतपुरमा रहेको चितवनको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सघन उपचार कक्ष (आईसीयु) मा बालकको उपचार भइरहँदा उनलाई कुर्न अर्घाखाँचीदेखि आफन्तहरु भरतपुर आएका छन् । प्रहरीले आमाको दुई दिनसम्म खोजी गर्दा पनि केही पत्ता लगाउन सकेको छैन । बस भने त्रिशुली नदीभित्र लगभग २५ मिटर तल फेला परेको थियो ।

राम्रो अस्पत्तालमा उपचार गराउन काठमाडौं धाउँदा….

जिल्लामा राम्रो अस्पत्ताल नभएपछि छोराको उपचार गराउन काठमाडौं गएकी थिईन् । उपचार गराएर घर फर्किने क्रममा उनीहरु चढेको बस त्रिशूलीमा पस्यो । आफ्नो १० महिने छोरालाई बाहिर फालेर आमा मनिषा अझै बेपत्ता छिन् । ‘एक महिनासम्म काठमाण्डौंमा राखेर समेत उनले उपचार गराएकी हुन्,’ मनिषाकी जेठानी बिष्णु थापाले भनिन्, ‘यसपटक पनि बाबुकै चेकअपका लागि उनी काठमाडौं गएकी हुन् ।’

१० महिने शिशु आर्यनको हेरचाह गर्न ठूलीआमा र मनिषाका दाई गोपाल आर्चाय भरतपुर आएका छन् । गोपालले भने, ‘बाबु त ठीक छन् तर, आमाको अवस्था अझैसम्म थाहा हुन सकेन ।’ दूधे बालक आर्यन र उनकी आमा मनिषा अर्घाखाँची निवासी हुन् । आमाको काखमा लुटुपुटु गरेर हुर्किइरहेका यी दूधे बालक आमाको ममताबाट छुटेका छन् ।

श्रीमान वैदेशिक रोजगारीका लागि साउदीमा, श्रीमती अझै बेपत्ताः
मनिषाका श्रीमान अर्थात् घाइते शिशु आर्यनका बुबा सुन्दर थापा बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् । उनी छुट्टीमा नेपाल आएर सात महिनाअघि मात्रै साउदी फर्केका हुन् । कान्छो छोराको काठमाडौंमा उपचार गर्नका लागि सुन्दरले साउदीबाट खर्च पठाउँदै आएका थिए । उनको सात वर्षको अर्को छोरा पनि छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org