ताजा समाचार

नारायणगढ-मुग्लिन सडकमा फेरी पाईन भो दुःख, आजदेखि रातमा गाडी चलाउन बन्द

काठमाडौं, १८ पुस । मुग्लिन-नारायणगढ सडकखण्डमा आजदेखि रातको समयमा यातायात बन्द गरिने भएको छ। सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो।

रातिको समयमा भित्तो काट्ने, सम्याउने लगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्र गर्ने कामलाई अगाडि बढाइने भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

ट्राफिक व्यवस्थापनलाई चुस्त बनाई सवारी आवागमन प्रभावकारी बनाउने, सवारी रोकिएको समयमा कामलाई तीव्रता दिने र रातिको समयका काम गर्न विद्युत् प्राधिकरणसँग समन्वय गर्नेगरी व्यवस्था मिलाइएको छ।

राति सडक बन्द हुने भएकाले काठमाडौंबाट आउने रात्रिबसलाई राति १० बजेअघि नै मुग्लिन पार गरिसक्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। उक्त समय पार गर्न नसके बस र साना सवारीलाई मुग्लिन बजारमा तथा ट्रकलाई लेवाटारमा रोक्ने तयारी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

नारायणगढबाट काठमाडौं र पोखरा लगायतका क्षेत्रमा जाने बस र साना सवारीलाई भने दासढुंगाको मदन आश्रित पार्क नजिक रोकिने भएको छ। सो रुटका ट्रकलाई रामनगरस्थित भतेरी जंगलमा रोकिने तयारी गरिएको छ।

नारायणगढ–मुग्लिन सडकको काम हालसम्म ६८ प्रतिशत सम्पन्न भएको छ। पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको हो । उक्त सडकखण्डको १६ किलो र २२ किलोमा ५ सय मिटर र ३३ किलोमा ३ सय मिटर भित्तो काट्ने काम अझै बाँकी रहेको आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org