ताजा समाचार

आज यस बर्षकै बढी चिसो, काठमाडौंको तापक्रम १ डिग्री, जुम्लाको माइनस ६

काठमाडौं, २० पुस । काठमाडौंको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो ।

काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार चिसो अझै बढ्ने छ । बुधबारको तुलनामा अझ झनै चिसो बढेको छ । ‘काठमाडौँ मात्र हैन देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै चिसो बढ्नेछ’, उनले भनिन्। बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई समस्या भएको छ ।

तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको र यसमा उत्तर पश्चिम वायुको केही प्रभाव पनि देखिएको मौसमविद् कँडेलको भनाइ छ । आज तराईका अधिकांश क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । अपराह्नदेखि क्रमिक सुधार आउने बताइएको छ । आज सबैभन्दा कम जुम्लामा माइनस ६ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा १० डिग्री सेल्सियस छ । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org