ताजा समाचार

अबको ६ दिन भित्र प्रदेश प्रमुख र मुकाम नतोकिए राष्ट्रियसभा चुनाव सर्ने खतरा

काठमाडौं, ३० पुस । अबको एकसाता भित्र प्रदेश प्रमुख र अस्थायी मुकाम नतोकिए राष्ट्रियसभा चुनाव प्रभावित हुने देखिएको छ । सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न ढिलाई गर्दा माघ २४ गतेलाई तोकिएको राष्ट्रियसभा सदस्य चुनाव प्रभावित हुने निर्वाचन आयोगले जनाएको छ ।

सर्ने प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने संवौनिक अधिकार सरकार भएपनि राजनीतिक सहमति जुट्न नसक्दा यी दुवै निर्णय हुन सकेको छैन । सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेश मुकाम तोक्न नसक्दा वा नतोक्दा राष्ट्रियसभा सदस्य निर्वाचन नै प्रभावित हुने खतरा बढेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

अबको ६ दिन भित्र प्रदेश प्रमुख नियुक्त नभए माघ २४ गतेलाई तोकिएको राष्ट्रियसभा निर्वाचन सर्नसक्ने प्रवक्ता ढकालले चेतावनी दिए । ढकालले भने “निश्चितै रुपमा हाम्रो कार्यतालिका अनुसार काम हुन पाउँदैन र सबै प्रक्रिया अवरुद्ध हुन्छ । मतदाता नामावली नै प्रकाशन गर्न नसकेपछि अन्य बिषय अगाडी बढ्न सक्दैन ।”

प्रदेशप्रमुख नियुक्तिमा भइरहेको ढिलाइले राष्ट्रियसभा निर्वाचनका लागि जारी गरेको कार्यतालिका समेत प्रभावित हुने भएपछि आयोगले सरकारको ध्यानाकर्षण पनि गरिरहेको छ । प्रवक्ता ढकालले भने “प्रदेशसभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेशप्रमुख समक्ष पठाउनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभा निर्वाचनसमेत प्रभावित हुने भन्दै सरकारको ध्यानाकर्षण गरिरहेका छौँ ।”

प्रदेशप्रमुखको नियुक्ति नहुँदा निर्वाचित भएको एक महिना बितिसक्दा पनि प्रदेशसभा सांसदहरुले शपथ लिन पाएका छैनन् । प्रवक्ता ढकालले भने “माघ सात गते राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्नुपर्ने चाप हामीलाई छ । त्यो भन्दा पहिले धेरै काम गर्नुपर्ने हुन्छ । यसर्थ प्रदेशप्रमुख र अस्थायी मुकाम छिटो तोक्न सरकारलाई पटक-पटक ताकेता गरिरहेका छौँ ।”

निर्वाचन कार्यक्रमअनुसार यही माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । त्यसपछि ८ र ९ गते मतदाता नामावलीउपर दाबी विरोधको कार्यक्रम छ । १० गते उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् । ११ गते उम्मेदवारीविरुद्ध दाबी विरोध र १३ र १४ गते उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । माघ १५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदानको कार्यक्रम तय गरिएको छ भने २४ गते मतदान हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org