ताजा समाचार

के महिनावारीमा महिलाहरु अशुद्ध हुन्छन् ? यस्ता छन् केही भ्रम र यसको यर्थातता

एजेन्सी, १ फागुन । हाम्रो जस्तो समाजमा अझै पनि महिनावारीलाई नराम्रो दृष्टिकोणले हेरिन्छ । महिनावारी भएको महिलाले अरुलाई छुन नहुने, भान्सामा गएर पकाउन नहुने जस्ता नकारात्मक सोच अझै यथावत छ । यसले अझै मध्यमपश्चिमाञ्चल तथा शुदूरपश्चिमाञ्चल क्षेत्रमा बढी प्रभाव पारेको देखिन्छ ।

पछिल्लो समय छाउपडी प्रथा सामाजिक बहसको विषय बनिसकेको छ । छाउपडी भनेको महिनावरीको बखत महिलालाई अलग्गै घरमा असुरक्षित ढंगले राखिने परम्परा हो । यस्तो परम्परा अहिले हट्दै गएपनि मानसिक रुपमा यस सम्बन्धिका धारणाहरु फेरिएका छैनन् ।

मासिक श्राव भएको अवस्थालाई हामी ‘पर सरेको’, ‘अशुद्ध भएको’ भन्ने गर्छौं । यहि मान्यताका कारण महिलाहरुलाई खानेकुरा छुन दिइदैन, पूजाआजामा बन्देज लगाइन्छ । शुभकार्यका लागि यो अवस्थामा अनुमति दिइदैन । मासिक श्राव एउटा शारीरिक चरण हो, जो हरेक महिलाहरुको जीवनमा हुने गर्छ । त्यो पनि नियमित रुपमा ।

मासिक श्राव हुनु भनेको महिला प्रजननका निम्ति योग्य भएको संकेत गर्छ । तर, सामाजिक चेतनाका अभावमा पहिलोपटक महिनावारी हुँदा केटीहरु डराउने गर्छन् । विभिन्न धार्मिक मान्यताले गर्दा उनीहरुलाई घरभित्र धेरै कामहरु गर्न रोक लगाइन्छ । गाउँको कुरा छाडौं शहरी समाजमा पनि महिनावारी भएका महिलालाई थुप्रै कुरामा बन्देज छन् । हामी त्यस्तै केही भ्रमहरु र तीनको यथार्थ प्रस्तुत गर्दैछौः

१. महिनावारी भएकी महिला फोहोरी र अशुद्ध हुन्छिन्:

महिनावारीमा फोहोरी र असुद्धता केही पनि हुँदैन । यो तपाईं प्रजननका लागि योग्य हुनुहुन्छ भन्ने एउटा प्रमाण हो ।

२. महिनावारी भएन भने गर्भवती भएको हो ?
गर्भ रहन गयो भने महिनावारी रोकिन्छ, तर महिनावारी रोकिनुका अरु पनि थुप्रै कारण हुन सक्छन् । जस्तै तनाव, खराब खानपिन, वजन घटनु, हार्मोनमा परिवर्तन, आदि । यदि पटक पटक महिनावारी रोकियो भने डाक्टरसँग परामर्श लिनुपर्छ ।

३. महिनावारीको बेला पुजा गर्नु हुँदैन:
माथि नै भनियो कि महिनावारीमा असुद्धता केही हुँदैन । तर, हाम्रो समाजमा महिनावारी भएकी महिलालाई व्रत बस्न, मन्दिर जान र पुजा गर्न रोक लगाइन्छ । यो गलत सोच हो ।

४. महिनावारीमा अचार छोयो भने बिग्रिन्छ:
यो सबैभन्दा हास्यास्पद र निराधार सोच हो । मानौं कि यी दिनमा महिलाहरुको हातबाट जीवाणु र किटाणु एकसाथ निस्केर अचारमा जान्छन् र अचार बर्बाद हुन्छ । यो बकवास कुरा हो ।

५. मासिक धर्मले शरीर कमजोर हुन्छ:
यो बिल्कुल असत्य हो । तपाईंको शरीर रगतको कमिले गर्दा कमजोर हुँदैन । महिनावारी हुँदा तपाईंको शरीरबाट औसत १ सय ५० मिलिलिटर रगत जान्छ, जुन केवल ४(५ चम्चा हो । तर, यदि तपाईंको शरीरमा रगतको कमी छ भने अर्कै कुरा हो ।

६. महिनावारीको रगत दुर्गन्धित हुन्छ:
विल्कुल हुँदैन । मासिक धर्मको दौरान निस्कने रगत अरु बेला शरीरका अन्य अंगबाट बग्ने रगतभन्दा फरक हुन्दैन । यसमा कुनै किसमको गन्ध र असामान्य पदार्थ हुँदैन ।

७. महिनावारीमा नुहाउँदा बाँझोपन हुन्छ:
यो गलत धारणा विशेषगरी अफगानिस्तानमा पाइन्छ । त्यहाँको मान्यता छ कि महिनावारीमा नुहाएको खण्डमा महिलाको प्रजनन क्षमतामा असर पर्छ ।

८. सेनेटरी नेप्किनबाट क्यान्सर फैलिन्छ:
बोलिभियामा के अन्धविश्वास छ भने यदि प्रयोग गरिएको नेप्किन कुनै पुरुषले देख्यो भने उसलाई क्यान्सर हुन्छ । यसलाई लिएर कडा चेतावनी नै दिने गरिएको छ । स्कुल जाने छात्राहरु प्राय प्रयोग गरिएको प्याडलाई आफ्नो ब्यागमा राखेर घरै लिएर आउँछिन् किनकी स्कुलको डस्टबिनमा त्यसलाई फ्याक्न पाइदैन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org