ताजा समाचार

जी–७ को साझा दस्तावेजमा ट्रम्प पछि हटे

 

एजेन्सी- जी–सेभेन सम्मेलनबाट जारी साझा दस्तावेजमा आफूले अनुमोदन गरेका विषयबाट अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प पछि हटेका छन्। ट्रम्पले क्यानडाले बेइमान गरेको आरोपसमेत लगाएका छन् ।

ट्रम्पले अरु देशहरुले अमेरिकामाथि भारी शुल्क लगाएर लुटिरहेको बताए । जी सेभेनको बैठकबाट बाहिरिँदै उनले भने, ‘अमेरिका एक पिगी बैंक जस्तो हो, जसलाई सबैले लुटिरहेका छन् ।’

अमेरिकाको तर्फबाट आल्मुनियम र स्टिलमा भारी शुल्क लगाएपछि जी सेभेन बैठकले ‘नियममा आधारित व्यापार प्रणाली’मा जोड दिएको छ । बैठकका निर्णय क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सार्वजनिक गरेका थिए ।
त्यसलगत्तै उनले अमेरिकाको आयात शुल्कको जवाफमा एक जुलाईदेखि अतिरिक्त शुल्क लगाउने घोषणा गरे ।

त्यसको जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै क्याडाका प्रधानमन्त्री ट्रुडोले गलत र बेइमानी गरेको बताएका छन् । उनले अमेरिका जी–सेभेनको साझा वार्तामा सहभागी नहुने घोषणासमेत गरे । ‘व्यापार युद्धमा हरेक पटक अमेरिका विजय हुन्छ’ ट्रम्पले भनेका छन्, क्यानडाका किसान, मजदुर र कम्पनीहरुमाथि भारी कर लगाउँदैछ ।

हालै स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका ट्रम्पले अटोमोबाइलमा पनि भारी शुल्क लगाउने चेतावनी दिएका छन् ।स्टिल र आल्मुनियममा आयात कर लगाउने निर्णयबाट क्यानडा, मेक्सिको र यूरोपियन युनियन रुष्ट छन् । उनीहरुले अमेरिकाविरुद्ध पनि यस्तै कुनै कारवाहीको योजना बनाएका छन् ।

राष्ट्रपति ट्रम्पले भने अमेरिकाविरुद्ध कुनै कदम उठाइएमा गम्भीर भूल हुने चेतावनी दिएका छन् । उनले भने, ‘यदि यसले व्यापार युद्धको रुप लियो भने यो लडाइँमा अमेरिका हरेक पटक विजय हुनेछ ।’ सम्मेलन सम्पन्न हुनुभन्दा अगाडि नै ट्रम्प सिंगापुर प्रस्थान गरेका छन्, जहाँ उनले मंगलबार उत्तर कोरियाली नेता किम जोङ्ग उनसँग ऐतिहासिक भेटवार्ता गर्ने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org