ताजा समाचार

नेपाली सुरक्षा ब्यवस्थामा प्रश्न चिन्ह खडा,मोदीसहित थाइल्याण्ड र म्यानमारका राष्ट्रपतिले हतियारसहित सुरक्षाकर्मी ल्याउने

काठमाडाैं ७, भदाै । यही भदौ १४ गतेदेखि काठमाडौंमा बिमस्टेक सम्मेलन सुरू हुँदैछ। सम्मेलनमा भाग लिनका लागि बंगलादेश, भुटान इन्डिया, नेपाल म्यानमार, थाइल्याण्ड श्रीलंकाका प्रधानमन्त्री वा राष्ट्रप्रमुख नेपाल आउने कार्यक्रम छ।

२ दिनसम्म चल्ने सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चानओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, म्यानमारका राष्ट्रपति विन माइन्ट नेपाल आउँदै छन्।

सम्मेलनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन माइन्ट र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले आफ्नै देशका सुरक्षाकर्मी र हतियारसँगै ल्याउने भएका छन्।

सम्मेलनमा सहभागी हुनुपूर्व उनीहरूले परराष्ट्र मन्त्रालयमार्फत् आयोजक राष्ट्र नेपाललाई यस विषयमा जानकारी गराइसकेका छन्।  कति जना सुरक्षाकर्मी र कुन हतियार ल्याउने भन्ने विषय उनीहरूले खुलाएका छैनन्।

‘आफूहरूसँगै ल्याउने सुरक्षाकर्मी र हतियारबारे उनीहरूले केही दिनमा नै लिखित जानकारी दिनेछन्, ‘गृह मन्त्रालयका एक उच्च अधिकारीले न्युज-नेपालसँग भने, ‘विमानस्थलमा खटेका प्रहरीले हतियारका बारेमा जानकारी लिन्छन्।’

‘हतियार कति ल्याए, सँगै लैजान्छन् कि लैजाँदैनन् यस विषयमा विमानस्थलमा खटेको विशेष प्रहरी युनिटले कडा निगरानी राख्छ, ‘प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दियो।

पहिला पहिला भारतले मात्रै सुरक्षाकर्मी र हतियार ल्याउने गर्दथ्यो। अहिले भारतको देखासिकी गरेर अन्य देशहरूका प्रमुखले पनि आफ्नै सुरक्षाकर्मी र हतियार ल्याउन लागेका छन्। अन्य देशहरूले भने आफ्नो सुरक्षाकर्मी ल्याउने छैनन्।

सहयोगीहरू मात्र लिएर आउने गृह मन्त्रालयले जनाएको छ। आफ्नै सुरक्षाकर्मी ल्याउनेहरूका लागि पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपालका प्रहरीका पूर्वडिआइजी यसलाई सामान्य रूपमा लिन्छन् ।

पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीले हतियार सरकारसँग अनुमति लिएर ल्याउन पाइने बताए।

‘हतियारसहित आउँदा र जाँदाको सबै जानकारी प्रहरीले राख्नुपर्छ’ डिआइजी मल्लले भने।

उनीहरूले हतियारसहित सुरक्षाकर्मी ल्याउँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको सुरक्षामा खोट लगाउन नहुने उनले बताए।

गत वैशाखको तेस्रो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका थिए। जनकपुरदेखि मुक्तिनाथसम्मको यात्रा गरेका उनले त्यसताका भारतबाटै आफ्नो सुरक्षाका लागि कमाण्डोहरू हतियारसहित ल्याएका थिए।

मोदीले नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षाकर्मी र हतियार ल्याएपछि सरक्षा दिने निकायहरूको आलोचनासमेत भएको थियो।  कतिपय सांसदहरूले संसदमा यस कुराको विरोध जनाएका थिए। सम्मेलनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खट्ने भएका छन्।

नेपाल प्रहरीले उपत्यकाबाहिर रहेका सबै जना एसएसपीलाई उर्दी जारी गरेर काठमाडौं बोलाइसकेको छ। अतिथिहरू बस्नका लागि होटल र इमर्जेन्सी उपचारका लागि अस्पतालहरूसँग स्वास्थ्य मन्त्रालयले समन्वय गरिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org