ताजा समाचार

तिम्ल्याह शिशुको उपचार गर्न आर्थिक सहयोग

म्याग्दी । धौलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि रु एक लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजु परियारका तिम्ल्याह शिशूको उपचारमा आर्थिक अभावका कारण समस्या भएको समाचार राससमार्फत सार्वजनिक भएपछि स्थानीयवासी, विभिन्न सङ्घ संस्था र व्यक्तिबाट रु एक लाख १५ हजार सहयोग जुटेको हो । टोल सुधार समितिको पहलमा हिलपोखरी, ताकम, काफलडाँडा, शिवाङमा सङ्कलन गरिएको रु ५७ हजार ७७० शिशुका बुबाआमा राजु र कमलालाई बुधबार हस्तान्तरण गरिएको हिलापोखरीका तारानाथ पौडेलले बताउनुभयो ।

लायन्स क्लब अफ दरवाङ म्याग्दी, नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखा, म्याग्दी उद्योग वाणिज्य सङ्घको दरवाङ एकाइले संयुक्तरुपमा दरवाङमा बुधबार घरदैलो गरेर रु २४ हजार ८३० जुटाई परियारका आफन्तलाई हस्तान्तरण गरिएको वडाध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो । मच्छिमको आमा समूहले रु १५ हजार सहयोग गरेका छन । धारापानीका बासिन्दाले रु १५ हजार सङ्कलन गरेका जनाइएको छ । वडासदस्य नरकुमारी गुरुङले रु दुई हजार ५०० सहयोग गर्नुभएको छ ।

मङ्गला गाउँपालिका–५ छिसवाङका ताराबहादुर क्षेत्रीले पनि रु दुई हजार उपलब्ध गराउनुभएको छ । परियारले शल्यक्रियामार्फत सोमबार बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकी थिइन् । कमलाको स्वास्थ्य सामान्य रहे पनि आइसियुमा राखिएका तीन बच्चाको उपचारका लागि आर्थिक अभावका कारण समस्या भएको छ । छोराहरु नौ/नौ सय र छोरीको तौल आठ सय ग्राम छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org