ताजा समाचार

बुढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाका रूपमा अघि बढाऔं : डा.भट्टराई

सरकारी लगानीमै बनाउन तत्काल अधिकारसम्पन्न प्राधिकरण आवश्यक

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनालाई बहुउद्देश्यीय आयोजनाका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । बिहीबार उर्जा मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उनले उक्त माग गरेका हुन् ।

सरकारी लगानीमै बनाउन तत्काल अधिकारसम्पन्न प्राधिकरण गठन गर्नुपर्ने माग गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले भने, ‘बुढीगण्डकी आयोजनालाई विजुली, पानी, पर्यटनलगायत क्षेत्र समेटेर बहुउद्देश्यीय रुपमा अघि बढाउनुपर्छ’ । ‘त्यसका लागि तत्काल बुढीगण्डकी उपत्यका विकास प्राधिकरण गठन गर्नुपर्छ’ उनले भने ।

सरकारले अहिले चर्चामा भएजस्तो चिनियाँ कम्पनीलाई ईपीसीएफ मोडलमा दिनु उपयुक्त नहुने भन्दै उनले सहुलियतपूर्ण ऋण खोजेर सरकारी लगानीमा नै बनाउनुपर्नेमा जोड दिए । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र टेण्डर डकुमेन्टसमेत तयार भइसकेकाले अब इन्जिनियरिङको काम गरिराख्न आवश्यक नभएको उनको भनाइ छ ।

सरकारले इपीसीएफ मोडलमा चीनको चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई बुढीगण्डकी आयोजना बनाउन दिने निर्णय गरिसकेको छ । डा. भट्टराईले चिनियाँ कम्पनीले व्यवसायिक दरमा नै रकम ल्याउन लागेको भन्दै भोलि नेपालीहरू ब्याजको पासोमा पर्न सक्ने खतरा औंल्याए ।

‘पैसा जोडजाडको कुरा छ, त्यो राज्यले गर्दा ठीक कि निजी कम्पनीले गर्दा ठीक ?’ उनले प्रश्न गरे ‘मैले सुनेअनुसार उसले ‘गेजुवा’ ले पनि कमर्सियल रेटमा नै ल्याउँदैछ, भोलि ब्याज तिर्दैमा हामी ठूलो ट्रयापमा पर्छौं, यो अत्यन्त राष्ट्रघात हुन्छ ।’

‘हिउँदमा बग्ने पानीको लाभ दक्षिणले लिन्छ, उत्तरले ब्याज खान्छ, हामी चाहिँ सधैं लाहुरेको लाहुरे नै हुन्छौं,’ डा. भट्टराईले थपे ।

राज्यले पहल गरेमा १ प्रतिशतभन्दा पनि कम दरमा सहुलियतपूर्ण ऋण पाइने उनले बताए । ‘यो आयोजना देशकै अर्थतन्त्रको ग्रोथ इन्जिन बन्न सक्छ, निजी क्षेत्रले तत्कालको फाइदा हेर्ने हुनाले बनाउन सक्दैन,’ उनले आयोजनाको विषयमा भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org