ताजा समाचार

ल्होछारमा ३ दिन सार्वजनिक बिदा !

काभ्रेपलाञ्चोक ।

तामाङ समुदायको सांस्कृतिक पर्व ड्वाल्हो सोनाम ल्होछारका लागि यहाँका स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

तामाङ समुदायको बाहुल्य रहेका चौँरीदेउराली गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ भने तेमाल, महाभारत र रोशी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएका छन् ।

चौँरीदेउराली गाउँपालिका तामाङ समुदायको आदिभूमि रहेकाले पर्व, धर्म, संस्कृति, संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व रहेको जनाउँदै गत बिहीबारको बैठकले यही माघ २२ र २३ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष दिननाथ गौतमले बताए ।

रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकारभित्र रहेर सोनाम ल्होछार मान्न यही माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिइएको बताए । उनका अनुसार रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ ।

तेमाल गाउँपालिकाले पनि सोनान ल्होछारका लागि यही माघ २१ देखि २३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले जानकारी दिए । महाभारत गाउँपालिकाले करीब एक महीनाअघि गत पुस २५ गते नै बैठक बसी ल्होछारमा तीन दिन बिदा दिने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org