ताजा समाचार

राष्ट्रपतिको राजीनामा माग्दै व्यापक प्रदर्शन

एजेन्सी । राष्ट्रपति अब्देलाजिज बौटेफ्लीकाको राजीनामाको माग गर्दै अल्जेरियामा जनताले प्रदर्शन गरेका छन् ।

लामो समयपछि हुन लागेको निर्वाचन फेरी स्थगित गरिएको भन्दै उनीहरुले राष्ट्रपतिको राजीनामाको माग गर्दै सोमबार राति प्रदर्शन गरेका हुन् ।

अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिजले आगामी अप्रिल १८ का लागि तय भएको निर्वाचन स्थगित गरेपछि आन्दोलन थप चर्किएको हो ।

निर्वाचन स्थगित गरिए पनि नयाँ निर्वाचन हुने मिति घोषणा भने गरिएको छैन । राष्ट्रपति अब्देलाजिजले मन्त्रिपरिषद्बाट चाँडै निर्वाचनको नयाँ मिति तय गरिने बताएको अधिकारीहरुले जनाएका छन् ।

उनको उम्मेदवारीलाई लिएर केही हप्तादेखि विरोध हुँदै आएकै बेला उनले फेरी निर्वाचन स्थगित गरेका छन् । प्रदर्शनकारीहरुले आगामी निर्वाचनमा भाग नलिन पनि उनलाई आग्रह गर्दै आएका छन् ।

विगत २० वर्षदेखि अल्जेरियाको नेतृत्व गर्दै आएकी ८२ वर्षीय वृद्ध राष्ट्रपति अब्देलाजिज अहिले बिरामी पनि छन् ।

वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले उनलाई पाँचौँ कार्यकालमा पनि जिम्मेवारीमा नआउन उनीहरुले माग गरेका छन् ।

अल्जेरियाको राजधानी अल्जियर्सलगायत देशका कयौँ शहरमा राष्ट्रपति अब्देलाजिजको व्यापक विरोध भइरहेको छ । उनको विरुद्धमा लाखौँ सङ्ख्यामा रहेका अल्जेरियाली नागरिकले सडक ¥याली निकालेका छन् ।

पाँचौँ पटक सरकार चलाउने अब्देलाजिजको घोषणासँगै देशमा विरोध प्रदर्शन शुरु भएको हो । उनले भने फेरी एकपटक आफूलाई चयन गरेमा चाँडै नै पद त्याग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तर अल्जेरियाली युवामा भने आर्थिक अवसरको कमीका कारण निरासा उत्कर्षमा पुगेको छ । उनीहरुले सक्रिय र स्वस्थ राष्ट्रपति चाहेको र देशलाई यही अवस्थामा रहिरहन नदिने बताउँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org