ताजा समाचार

लोकसभा निर्वाचनमा कन्हैया कुमारको चुनावी प्रचार शैली

विहार। भारतमा जारी लोकसभा निर्वाचनमा खडा भएका अन्य उम्मेद्वारका तुलनामा भारतीय कम्युनिस्ट पार्टीका कन्हैया कुमारको चर्चा बढी छ। विहारको बिगुसरायबाट चुनावी मैदानमा होमिएका कन्हैया प्रधानमन्त्री मोदीका प्रखर विरोधी हुन्।

जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी युनियका पूर्व अध्यक्षसमेत रहेका उनी विहारको बेगुसरायबाट लोकसभा निर्वाचन लड्दै छन्। भारतीय कम्युनिष्ट पार्टी (सिपिआई) बाट चुनाव लड्न लागेका उनका मुख्य प्रतिस्पर्धी भारतीय जनता पार्टीका गिरिराज सिंह मानिएका छन्।

परम्परागत निर्वाचन प्रचारभन्दा कन्हैया कुमारको निर्वाचन प्रचार शैली अलि भिन्न छ। प्रचारमा धेरैजस्तो शहरी युवाको संलग्नता पाइन्छ। पढाइ वा काम छोडेर चुनाव प्रचारकै लागि बेगुसराय आएका केही यस्ता व्यक्ति छन् जो निर्वाचनको सबै अवधि बेगुसरायमा नै रहने छन्। तर धेरैजसो सहयोगी भने केही समयका लागि मात्र चुनावी प्रचारमा आएका हुन्।

 

कन्हैया कुमारको प्रचारप्रसार संयोजन गर्दै आएकी जेएनयूकी विद्यार्थी जुनी भन्छिन्, ‘प्रचार विभाग भनेर हामीले यस्तो केही बनाएका त छैनौँ। तर जति पनि छौँ। सबै हामी स्वइच्छाले यहाँ आएका हौं।’ प्रचारका लागि कस्ता रणनीति अपनाउनु भएको छ भन्ने प्रश्नमा उनले भनिन्,‘रणनीति नै भनेर त हामीले यस्तो केही बनाएका छैनौँ, तर हाम्रा साथीहरु निर्वाचन प्रचारका लागि दिन रात समाजिक सञ्जालका माध्यमबाट धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्याउने प्रयत्नमा छन्।’

निर्वाचन प्रचारका क्रममा कन्हैयाले गरेका भाषणको भिडियो बनाउँने र त्यसलाई सम्पादन गर्न छुट्टै मानिस राखिएको छ। त्यस्तै उनको प्रचार अभियानलाई समाजिक सञ्जालमा ‘लाइभ’ गर्ने व्यवस्था पनि गरिएको छ। कन्हैयाको प्रचारप्रसार हेर्दा शहरी क्षेत्रमा ठूलो रकम खर्च गरेर तयार पारिएको प्रचार विभागको तयारीभन्दा कम तयारी छैन। तर उनीहरूको प्रचारप्रसार स्वतस्फुर्त नै हो।

 

तुल ब्यानरमा खर्च कम गरिएको छ भने डिजिटल प्रचारलाई बढी जोड दिइएको छ। यस्तै प्रत्येक दिन उनीहरुले आफूहरू कमजोर रहेको क्षेत्रमा पकड बनाउने विषयमा पनि विचार मन्थन गर्छन्। सञ्चार माध्यममा कन्हैयाको चर्चा भएअनुसार उनले निर्वाचन सहजै जित्छन् भन्ने लागे पनि उनको तयारी ‘ग्राउन्ड लेभल’देखिकै छ।

कुन ग्राम पञ्चायतमा मतदाताको अंकगणित कस्तो छ? कुन जातिका मानिस उनीप्रति हार्दिक छन्? कुन जातिका मानिस कन्हैयासँग सन्तुष्ट छैनन्? यी सबै विषयमा उनीहरु चनाखो भएका छन्।

यस्तै कुन ग्राम पञ्चायतबाट कति भोट आउने अपेक्षा गरिएको छ र बहुमत प्राप्त गर्न त्यो ठाउँबाट कति भोट आउनुपर्छ भन्ने तयारी पनि रहेको कन्हैयानिकट एक सहयोगीले बताए।

निर्वाचन प्रचारमा संगीतालाई पनि सहयोगीका रुपमा लिइएको छ। आजादीको गीतबाट मतदातालाई आफूहरुतिर आकर्षित गर्ने प्रमुख माध्यमका रूपमा उनीहरूले प्रयोग गरेका छन्। यस्तै कन्हैयाले ढम्फु बजाउँदै गरेको दृश्यमा लेखिएको ‘हाम लेके रहेंगे आजादी’ प्रिन्ट गरेको टिसर्ट पनि प्रचार सामग्रीको रुपमा प्रयोग गरिएको छ।

जुनीले आफूहरुको प्रचार रणनीति अथवा निर्वाचनकेन्द्रित रणनीति खासै नभएको बताएका छन्। तर उनीहरुको तयारी देख्दा सहजै अनुमान लगाउन सकिन्छ निर्वाचन रणनीतिमा उनीहरुले ठुलो मेहनत खर्चेका छन्।

निर्वाचनका क्रममा गर्ने भाषणमा प्रतिपर्धीभन्दा प्रधानमन्त्री मोदीप्रति निसाना साँध्छन् कन्हैया। भन्छन्, ‘गिरिराजसँग निर्वाचनमा प्रतिस्पर्धा गर्दैछु भनेको मोदीको नाममा निर्वाचन लडिँदै छ। पहिल्यै थाहा भएको भए मोदी विरुद्ध नै उम्मेदवारी दिने थिएँ।’ उनले यसो भन्दै सभामा उपस्थित मानिस तालीको गडगडाहटले थुप्रै बेर अरु केही पनि आवाज सुन्न सकिँदैन।

बेगुसरायमा भारतीय जनता पार्टीका तर्फबाट राज्यमन्त्री गिरिराज सिंहले निर्वाचन लड्ने भएपनि त्यहाँ सिंहको नाममा भोट मागिएको छैन। मोदीको नाममा मोदीलाई प्रधानमन्नत्री बनाउन भोट मागिँदैछ।

संसदीय राजनीतिको अभ्यास गरेपनि यो भारतीय निर्वाचन प्रक्रियाको विरोधाभाष हो। सिंह आफ्ना लागि भन्दा बढी प्रधानमन्त्री मोदी पुनः अवसर दिन आग्रह गर्दै भोट माग्दैछन्। कन्हैया आफ्ना प्रतिस्पर्धीभन्दा मोदीको बढी विरोध गर्छन्।

कन्हैयाका सबै कुरामा जनताले ताली बजाउँछन् भन्ने पनि होइन। कहिलेकाहीँ उनको प्रचारमा सहभागी व्यक्तिले नै जनताले जबर्जस्ती ताली बजाउने वातावरण सिर्जना गर्ने गरेको पनि देख्न गाह्रो थिएन।

कुल ४० संसदीय सिट रहेको विहारमा अप्रिल २९ मा निर्वाचन हुँदैछ। सन् २०१४ को लोकसभाको निर्वाचनमा मोदी नेतृत्वको भाजपाले २२ सिटमा विजय हासिल गरेको भएपनि यो पटक उसले जम्मा १७ सिटमा मात्रै आफ्नो उमेदवार उठाएको छ। विहारका मुख्यमन्त्री नितिन कुमारको पार्टी जनता दल युनाइटेड र लोक जनशक्ति पार्टीसँग निर्वाचन गठबन्धन गर्दै भाजपाले १७ स्थानमा मात्रै आफ्नो उमेदवारी दिएको हो। बाँकी २३ सिटमा जनता दलले १७ सिटमा प्रतिस्पर्धा गर्दैछ भने लोक जनशक्ति पार्टीले ६ स्थानमा प्रतिस्पर्धा गर्दैछ।

अघिल्लो लोकसभाको निर्वाचनमा २२ सिटमा विजयी हाँसिल गरेको पार्टी यो पटक १७ सिटमा मात्रै आफ्नो उमेदवारी खडा गर्दै खुम्चिएको छ। भाजपा खुम्चिनु भनेको मोदीको लोकप्रियता घट्दै गएको संकेत पनि हो।

यस पटकको विहार निर्वाचनमा भारतीय कांग्रेस सम्मेलित महागठबन्धनमा ५ पार्टीले संयुक्त रूपमा चुनाव लड्दै छन्। महागठबन्धनका तर्फबाट कांग्रेसले जम्मा ५ सिटमा निर्वाचनमा प्रतिस्पर्धा गर्दैगर्दा गठबन्धनको अर्को पार्टी लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलले २० सिटमा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ। बाँकी सिटमा गठबन्धनका अन्य पार्टी हिन्दूस्थान अवाम मोर्चा, राष्ट्रिय लोकसम्मत पार्टी, बिआईलगायतका दल प्रतिस्पर्धामा उत्रिएका छन्।

लालुप्रसाद यादव नेतृत्वको पार्टी राष्ट्रिय जनता दल र नीतिश कुमार नेतृत्वको पार्टी जनता दलले राष्ट्रिय दल भाजपा र कांग्रेसका तुलनामा पाएको सिटले भारतमा केन्द्रीय पार्टीभन्दा क्षेत्रीय पार्टीको बोलबाला बढी रहेको देखिन्छ। यसले क्षेत्रीय राजनीतिमा राष्ट्रिय दलको भूमिका तेजोबध गरेको छ।

अङग्रेजी भाषीमा कन्हैयाको चर्चा बढी
अंग्रेजी भाषीमा कन्हैया कुमारको बढी चर्चा भएको अनुभव गर्न सकिन्छ। हुन त यो कुरा कुनै सर्वेक्षणका आधारमा भनिएको होइन। भारतका विभिन्न ठाउँ पुग्दा भोटिएका मानिससँग गरिएको कुराकानीका आधारमा आँकलन मात्र गरिएको हो। हिन्दी भाषी त्यसमा पनि मजदुरी गरेर जीविकोपार्जन गर्ने मानिसमा मोदीको दबदबा अझै बाँकी देखिन्छ। उनीहरूका लागि भारतमा मोदीको विकल्पका रुपमा अन्य नेता नै नरहेको जस्तो देखिन्छ।

केही समय अघि भारतले पाकिस्तानको बालाकोटमा गरेको सैन्य आक्रमणले दुबै थरिका चुनावी अभियानलाई मसला बनेको देख्न सकिन्छ। मोदीविरोधीले यसलाई मोदीको कमजोरी र चुनावी फन्डाका रुपमा चित्रण गर्छन् भने मोदीका समर्थकले गुणगानको विषय बनाएका छन्।

यस्तै आलोचनात्मक चेत भएका जुनसुकै पुस्ताका अङग्रेजी बोल्ने मानिसले कन्हैयालाई समर्थन गरेका छन्। तर हिन्दी बोल्ने मानिसले कन्हैयालाई समर्थन नै गरेका छैनन् र अङग्रेजी बोल्ने सबै मानिस मोदीको विरोधी छन् भन्ने चाँहि होइन।

दिल्ली बस्ने विहारका मतदाता कन्हैयाको विषयमा खासै सकारात्मक देखिँदैनन्।

आखिर यस्तो किन देखिएको छ त? दिल्ली विश्वविद्यालयमा समाजशास्त्र एक प्राध्यापकका अनुसार ज्याला मजदुरी गरेर दिल्लीमा जीविकोपार्जन गर्ने व्यक्तिको सूचनाको स्रोत भनेको नै भारतीय हिन्दी भाषी सञ्चार माध्यम हो। अथवा समाजिक सञ्जालमा आउने हिन्दी भाषाको भिडियो। ज्यादाजस्तो यस्तो सञ्चार माध्यमले मोदीलाई सकारात्मक देखाएको हुँदा त्यसको प्रभाव उनीहरुमा परेको छ।’

ती प्राध्यापक थप्छन्, ‘आलोचनात्मक चेत भएका मानिस जो अंग्रेजी भाषा राम्रोसँग बोल्छन् र बुझ्छन् उनीहरूलाई सूचनाको विकल्प हुने भयो। आलोचनात्मक चेत हुने बित्तिकै उनीहरूमा मोदीले गरेका वाचा र काम, भारतको सम्प्रादायिक चिन्तित हुने नै भए यसले गर्दा मोदीको आलोचना गर्ने गरेका हुन्।’

यही प्रश्न बेगुसरायमा कन्हैयाको प्रचार संयोजन गर्दै आएकी जुनीलाई सोध्दा उनी यो कुरा मान्न तयार भइनन्। उनको विचारमा हिन्दी भाषी र अङग्रेजी भाषी भन्ने त्यस्तो केही छैन। चाहे जुन भाषा बोले पनि मानिसको कन्हैयाप्रतिको विश्वास देखिएको उनको दाबी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org