ताजा समाचार

आज तमु ल्होसार,मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिदैँ

काठमाडौं ।  गुरुङ समुदायले प्रत्येक बर्ष पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन्।

पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने तमु ल्होसार मूलआयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङले बताए। परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् ।

मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो। यसवर्ष तमु ल्होसारका अवसरमा आइतबारदेखि तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको समितिका महासचिव सूर्यबहादुर गुरुङले जानकारी दिए।

प्रतियोगिताको अन्तिमचरणको कार्यक्रम मङ्गलबार गरिने जनाइएको छ । जसका कारण आइतबारदेखि नै टुँडिखेलमा गुरुङ समुदायको रमझम छ ।

तमु ल्होसारका अवसरमा १५० भन्दा बढी कक्ष राखिएका छन्। जहाँ गुरुङ समुदायका मौलिक पहिचानका चीजबीज एवं वेषभूषा र खानाको प्रदर्शनीसहित बिक्री वितरण भइरहेको छ। आज अपरान्ह १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार मूलसमारोहद्वारा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org