ताजा समाचार

चीन र उत्तर कोरियाका क्षेप्यास्त्रबाट जोगाउन अमेरिकाले गुआममा राखेका बमवर्षक विमान फिर्ता लग्यो

एजेन्सि । एसियामा सैन्य उपस्थितीको भरपर्दो केन्द्र गुआमबाट अमेरिकाले आफ्ना बमवर्षक विमान फिर्ता लगेको छ।

१६ वर्षमा पहिलोपटक गुआम अमेरिकी बमवर्षक विमानरहित भएको सीएनएनले जनाएको छ। प्रशान्त महासागरस्थित गुआम टापु अमेरिका अधिनस्थ क्षेत्र हो। चीनको बढ्दो प्रभाव र उत्तर कोरियासँग टकराव जटिल बन्दै गएपछि यो टापुलाई अमेरिकाले सैन्य बमवर्षक जहाज राख्ने अखडा बनाएको थियो।

तर अप्रिल १७ तारिखमा अमेरिकाले गुआमबाट पाँच वटा बी–५२ बमवर्षक विमान नर्थ डेकोटामा फर्काएको हो।  गुआम टापुमा रहेको अमेरिकी सैन्य हवाई अड्डा । गुआमस्थित हवाई सैन्य अड्डामा रहेका बमवर्षक विमानले युद्धकालिन स्थितिमा केही समयभित्रै दक्षिण चीन सागर र उत्तर कोरियाजस्ता क्षेत्रमा आक्रमण गर्न सक्ने क्षमता राख्छ। अमेरिकी सैन्य अधिकारीहरुले अब मूख्यभुमीबाटै बमवर्षक विमान उडाउन प्रभावकारी हुने तर्क गरेका छन्।

तर सैन्य विश्लेषकहरुले चाहिँ गुआममा रहेको हवाई अड्डा जोखिममा रहेको र त्यसलाई सञ्चालन गरिराख्दा गम्भीर जोखिम निम्तने भएकाले अमेरिकाले सैन्य बमवर्षक विमानहरु फिर्ता गरेको बताएका छन्। चीनले केहीअघि गुआमस्थित अमेरिकी हवाई अड्डालाई नै लक्षित गर्दै ‘गुआम किलर’ मिसाइल परीक्षण गरेको थियो।

सन् २०१७ मा उत्तर कोरियाले पनि ‘ह्वासोङ–१२’ नामक इन्टरमिडियट ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो। प्योङयाङले यो मिसाइल परीक्षण गर्नुका पछाडि गुआमलाई अमेरिकाको नियन्त्रणबाट मुक्त गर्नु रहेको जनाएको थियो। गुआमस्थित अमेरिकी हवाई अखडा लक्षित चीननिर्मित डीएफ-२६ अर्थात गुआम किलर क्षेप्यास्त्र ।

चीनले बनाएको डीएफ–२६ ले मूख्यभूमी चीनबाटै अमेरिकी हवाई अड्डालाई ध्वस्त पार्नसक्ने ल्याकत राख्छ। अमेरिकी सेनाको युएस प्यासिफिक कमाण्डअन्तर्गत जोइन्ट इन्टिलेजेन्स सेन्टरका पूर्व निर्देशक कार्ल सुस्टरले भनेका छन्, ‘चीन र उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्रबाट जोगिनका लागि गुआमबाट बमवर्षक फिर्ता ल्याइएको हो, यसले सम्भावित हमलाको जोखिमलाई कम गरिदिएको छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org