ताजा समाचार

पार्टी विभाजन गर्ने चार भाइको रिहर्सल : प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापा

काठमाडौं : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा अध्यक्ष प्रचण्डसहितका चार नेताले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख समेत रहेका थापाले प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेको आरोप लगाएका हुन्।

चार नेतालाई ग्याङ अफ फोरको संज्ञा दिँदै थापले पार्टी विभाजन र समाप्त पार्ने कसरतमा लागेको उल्लेख गरे।  अहिले नेता खनाल राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री, नेता नेपाल पार्टी अध्यक्ष र नेता श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्ने दौडमा रहेको थापाको आरोप छ। १० वर्ष अघि तत्कालीन अध्यक्ष प्रचण्डविरुद्ध मोर्चाबन्दी गर्दा माओवादी विभाजन भएको प्रसंग उल्लेख गर्दै थापाले अहिले धोबीघाट गठबन्धनकै रिहर्सल भइरहेको टिप्पणी गरेका छन्।

पार्टीका चार शीर्ष नेताको हिजोको केही पत्रकारमाझ बोलेका विषयलाई लिएर थापाले यस्तो जनाएका हुन्।  नेकपाकै केन्द्रीय सदस्य एवं सांसद कृष्णगोपाल श्रेष्ठले पनि पार्टी पत्रकारको गुट भेलामा प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई गाली गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

पत्रकारहरुमाझ नेताहरुले बेलेको कुरा सुरुदेखि अन्तिमसम्म जस्ताको तस्तै सुनेको भन्दै श्रेष्ठले भनेका छन्,  ‘राजनेता ओलीलाई यति धेरै गाली त पञ्चायती शासकले पनि गरेका थिएनन्, भारतीय मिडियाले पनि गरेका थिएनन्। बेकारमा सुनेछु। कमरेडहरुको राष्ट्रियता र शब्द छनौट देखेर आफैंलाई लज्जाबोध भयो।’

शीर्ष नेताहरुबीच पटक पटक छलफल भएपनि दुवै पक्ष अडानबाट पछि नहट्दा नेकपाको विवाद झन् बल्झिँदै गएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org