ताजा समाचार

भारतीय विदेशमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : कांग्रेस प्रवक्ता

काठमाडौँ ।  प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘बुद्ध महान् भारतीय भएको’ भन्ने भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्तिमा आपत्ति  जनाएका छन् ।

‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ’ शर्माले ट्विट गर्दै भनेका छन् ।

भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले बुद्ध महान् भारतीय भएको बताएका थिए ।

शर्माले आवेगको जवाफ आवेग दुवै देशको हितमा नभएको पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म नेपालको ठोरीमा भएको दोहोर्‍याएर बोलेको प्रसंगतिर संकेत गर्दै उनले भनेका छन्, ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन् । मूल विषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।’

उनले भनेका छन्, ‘बुद्ध नेपालमा जन्मेका हुन् भनेर संसारमा कहींबाट दर्ता प्रमाण हामीले मागेका छैनौं । भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि नेपाल बुद्ध भूमि हो भनेर स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भइसकेको छ । फेरि पनि आपत्तिजनक टिप्पणी अत्यन्तै दु:खद छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org