ताजा समाचार

राजीनामा घोषणा गर्दै प्रधानमन्त्री आवेले भने – मेरो कारण सरकार सञ्‍चालनमा समस्या नहोस्

एजेन्सि । जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा दिएका छन् ।

यसअघि उनको दलले आबेले राजीनामा दिने सोच बनाएको पुष्टि गरेको थियो ।  उनको आन्द्राको समस्याका कारण लामो समयदेखि पीडित छन् । अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ ।

सरकारी प्रसारक एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्‍चालनमा समस्या नहोस् भन्‍ने चाहेका थिए । सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन् । उनको पदावधि २०२१ सम्म छ ।

सन् २००७ मा पनि उनले स्वास्थ्यकै कारण प्रधानमन्त्रीको पद छोडेका थिए ।

उनलाई किशोरावस्थादेखि आन्द्रा सुन्‍निने रोग छ । एकै साता दुई चोटि अस्पताल गएपछि आबेको स्वास्थ्यस्थिति बिग्रिन थालेकोप्रति प्रश्‍नहरु उठेका थिए ।

उनले आफू किन अस्पताल गएको हो भनेर बताएका छैनन् । तर एक चोटि आठ घण्टा अस्पतालमा बसेको विवरण प्राप्त भएको छ ।

यसअघि सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टीका पदाधिकारीहरूले आबेले पदत्याग गर्ने अनुमानको खण्डन गर्दै प्रधानमन्त्रीको स्वास्थ्य ठिक भएको दाबी गरेका थिए । मंगलबार उनका एक सहयोगीले समाचारसंस्था रोएटर्सलाई आबेले आफ्नो पदावधि पूरा गर्ने आफूलाई लागेको बताएका थिए ।

संसद् भंग हुने र मध्यावधि निर्वाचन गराइने अनुमानको खण्डन गर्दै आकिरा आमारीले प्रधानमन्त्रीले त्यसो नगर्ने दाबी गरेका थिए । “अहिले कुनै मध्यावधि निर्वाचन हुँदैन,” उनको भनाइ थियो ।

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न चालिएको कदमप्रति असन्तुष्टि भएकाले सरकारको लोकप्रियता केही घटेको छ ।

प्रधानमन्त्रीले कार्यभार सम्हाल्न नसकेको अवस्थामा जापानी कानुनअनुसार कार्यवाहक प्रधानमन्त्री नियुक्त हुन्छन् । तर कार्यवाहक प्रधानमन्त्री कहिलेसम्म पदमा रहने भन्‍ने सीमा तोकिएको छैन ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री टारो आसो मर्यादाक्रममा प्रधानमन्त्रीपछि दोस्रो स्थानमा छन् । त्यसपछि मन्त्रिपरिषद्का मुख्यसचिव योशिहिदे सुगा छन् ।

कार्यवाहक प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गर्न सक्दैनन् । तर दलले नयाँ नेता र प्रधानमन्त्री नछानेसम्म अन्य काम गर्न सक्छन् ।

जापानमा प्रधानमन्त्रीले राजीनामा दिए वा दिने घोषणा गरे भने सत्तारूढ दलले आफ्नो नयाँ अध्यक्ष चुन्‍न मतदान गराउनुपर्छ । त्यसपछि संसद्‌मा नयाँ प्रधानमन्त्रीको निर्वाचन हुन्छ ।

त्यसरी छानिएका नेता आगामी वर्ष सेप्टेम्बरसम्मका लागि आबेका स्थानमा प्रधानमन्त्री बन्‍नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org