ताजा समाचार

पुस्तक अंश : जनयुद्धमा सुदूरपश्चिम

प्रिय कमरेड तिलक राज भण्डारी “परिवर्तन”
न्यायो क्रान्तिकारी लाल सलाम ।

हिजोमात्र जनमुक्ति सेनाले दाङ्गको सतवरियामा रहेको प्रतिक्रियावादी शाही सत्ताको सशस्त्र प्रहरीको वेश क्याम्प र लमही स्थित प्रहरी चौकी आक्रमण गरी सफलता प्राप्त गरेको खबर शाही सञ्चार माध्यमले समेत प्रशारण गर्न बाध्य भएको छ । यो खबरले हामीलाई अत्यन्तै हर्षित र उत्साहित तुल्याएको छ । पक्कै पनि बलिदान क्रान्तिको उर्जा हो, धेरै कमरेडहरूले अन्य मोर्चामा झैं आफ्नो जीवनको बलिदान गरेर मोर्चालाई सफल बनाउनु भएको होला । उहाँहरूप्रति सुदुरपश्चिमको भूमिबाट सम्मान र सलाम सहित श्रद्धासुमन अर्पण गर्दछु ।

तिलकजी, तपार्ईंं र म दाङ्गबाट छुट्टिएको पनि पाँच महिना पूरा भएछ । तपार्ईंलाई थाहा छ, हामी तुल्सिपुरमा रहेको बेला कमरेड आक्रोश र विकल्प लगायतका कमरेडहरूसँग भेट भएको थियो । उहाँहरू घोराही आक्रमणको सर्वे गर्ने योजनामा हुनुहुँदो रहेछ । हामी काममा छौं भन्नू भाको थियो । के काम ? भनेर सोध्ने कुरा पनि भएन ।

म यहाँ आएपछि मंसीर ८ मा धर्ती आकाश हल्लिनेगरी, प्रतिक्रियावादी तŒवहरूको स्वर्गमा भुईचालो जानेगरी पहिलो पटक प्रतिक्रियावादीको मुख्य शसस्त्र फौजमाथी गरिएको जनमुक्ति सेनाको हमला र सफलता प्राप्त भयो । त्यसले वार्ताको नाममा क्रान्तिकारी शक्तिलाई अलमल्याउने, आक्रमण गर्ने र समाप्त गर्ने शाही हत्याराहरूको रणनीति चक्नाचुर बनाइदिएको छ । यसले लडाईलाई शाही हत्यारा र नेपाली जनताको प्रतिनिधि, सर्वहारा वर्गको अग्रदस्ता माओवादी शक्तिसँग अन्तिम रुपमा आम्ने–साम्ने बनाईदिएको छ ।

तिलकजी, अब जनयुद्ध प्रतिक्रियावादी तŒवहरूका गोयवल्स प्रचार आतङ्कलाई ध्वस्त पार्दै माओवादी पार्टी र यसका जनवर्गीय सङ्गठन तथा माओवादी आन्दोलनलाई माया गर्ने न्यायप्रेमी सर्वहारा, श्रमजिवि जनतालाई आतङ्ककारी घोषणा गर्ने, जनहत्या, बलात्कार, आगजनी, र लुटपाट मार्फत मध्ययुगीन बर्बर आतङ्क मच्चाउने, नेतृत्वहरूको टाउकाको मूल्य तोक्ने, माओवादीलाई हत्या गर्नेलाई पुरस्कृत गर्ने हत्यारा फर्मानहरूलाई चुनौती दिँदै, परास्त गर्दै रणनीतिक सन्तुलनको चरणलाई सफलतापूर्वक कार्यन्वयन गर्ने चरणमा अघि बढेको छ ।

शाही हत्याराहरूले जनमुक्ति सेनाको पहिलो सफलतालाई अनेक कुप्रचारद्वारा सुतेको सेनामाथि आक्रमण गरेको र अब सेना ब्युझिएको र माओवादी समाप्त हुने पनि डङ्का पिटेरै हिडे । तर जव जनमुक्ति सेनाले अछाम सदरमुकाम मंगलसेनमाथि धावा बोलेर शाही हत्यारो फौजको क्याम्पसहित सदरमुकामलाई आफ्नो नियन्त्रणमा लियो । तब प्रतिक्रियावादीका सबै झुट्टा प्रोपोगाण्डाले हावा खाएका छन् । यसले जतिसुकै हत्या र आतङ्कको साहारा लिए पनि प्रतिक्रियावादी शक्तिको पराजय अवश्यम्भावी छ भन्ने कुरा स्पष्ट हुँदै गएको छ ।

तिलकजी, म सुदुरपश्चिम (सेती–महाकाली ) लागेको पनि करीव एकवर्ष पूरा भएको छ । अघिल्लो वर्षको अन्तिमतिर हामीले “अग्रगामी कदम अभियान” लिएर सल्यान छोडेका थियौं । हामीले पहिलो छ महिना अभियानको रुपमा बितायौं । अभियानको क्रममा नै अनन्य मित्र, प्रिय कमरेड तथा आदरणीय दाजु रुपलाल बोहरा (क.आकास) लाई गुमायौं । कमरेड बारूणको रगतले सिञ्चत भुमि कैलालीमा पुनः एक कुशल कमाण्डर आकाशले उच्च स्तरको बलिदान गर्नु भयो । त्यो छ महिनाको सङ्गठनात्मक र सङ्घर्षका गतिविधि सल्यानदेखि दाङ्गसम्मको यात्रामा बताउने प्रयास गरेको थिएँ । तपार्ईंका जिज्ञासा कति मेटाउन सके मलाई थाहा छैन । तर, नयाँ भूगोल, नयाँ सहयात्री, नयाँ संस्कृति र नयाँ परिवेशसँगको हाम्रो अन्तरघुलन कठिन, चुनौतीपूर्ण र रमाइलो पनि हुने गरेको छ ।

तिलकजी, संकटकालपछि सुदुरपश्चिमको राजनीतिक गतिविधि ज्यादै चुनौतीपूर्ण नै छ । कैलालीबाहेक अरु सबै जिल्लाहरूमा सङ्घर्षमा खारिएको सङ्गठन र जनआधार खासै छैन भन्दा पनि हुन्छ । वार्ताकालको राजनीतिक माहोलमा बनेका सङ्गठनलाई संकटकाल र प्रतिक्रियावादी जनहत्याराहरूको जनहत्या र आतङ्कले गर्दा क्षतविक्षत जस्तै बनेको छ । संकटकाल सँगै जस्तो भयो मेरो पार्टीको औपचारिक कार्यक्षेत्रको जिम्मेवारी । त्यो पनि दुश्मनको सबैभन्दा बलियो अखडा । हाम्रो संरचना अनुसार कञ्चनपुर–डडेलधुरा जिल्लाको सदरमुकाम एरियाको जिम्मेवारीमा म आइपुगेँ । यो कञ्चनपुरको दैजी, सुडा, महेन्द्रनगर नगरपालिका तथा महाकाली पारीका दोधाराचाँदनी सहितको एरिया हो । यो दुश्मनको अखडामा आइपुग्ने बेला मंसीर २८ गते नै दैजीको वैतडाबाट यो एरियाका सबैजना कमरेडहरू दुश्मनको कब्जामा पर्नु भयो । म आइपुग्दा हामी २,३ जनामात्र रहेका थियौं । त्यसैबाट जनशक्ति उत्पादन गर्दै र जोड्दै हामीले सङ्गठन र सङ्घर्षका गतिविधि अगाडि बढाएका हौं । नयाँ भूगोल, सुप र थारु समुदायविचका अन्तरक्रियामा आइपर्ने भाषिक समस्या एउटा समस्या बन्न पुग्दछ ।

कार्यक्षेत्र पुगेको दिन सबै कमरेडको गिरफ्तारी, हप्ता दस दिन नवित्दै सेल्टर लिएको गाँऊमा शाही हत्यारो जत्था पुगेर दैजी अर्जुनीका ५ जना निर्दाेष किसानको सामूहिक हत्या, दैनिक हत्या, आतंङ्क र व्यापक रुपमा गरिएको सुराकीहरूको प्रयोगले जनजीवन आतङ्कको बिचमा गुज्रिरहेको अवस्था छ । तथापी हामी जति छौं साहस र धैर्यताको प्रदर्शन गर्दै अगाडि बढ्यौं । कमरेड माओले भने झैं “जब तिमी अफ्ठेरो परिस्थितिमा हुन्छौ त्यतिखेर सफलताको कथालाई स्मरण गर र ती सफलताका पछाडि कठोर सङ्घर्ष छ भन्ने नबिर्स” यी उक्तिलाई आत्मसाथ गरेर अगाडि बढ्यौं । अछामको सफल कारबाही पछि हाम्रो जनताको मनोबल उँचो भएको छ र दुश्मन एक कदम पछि हटेको छ ।

हामीले यो बिचमा मङ्सिर २३ गते ठूलो मूल्य चुकाउनु पर्याे । मलाई एकताको १५ औं राष्ट्रिय सम्मेलन र केन्द्रिय समिति बैठकको सम्झना आउँछ । ८५ सदस्यीय केन्द्रीय समितिले आगामी क्रान्तिको मोर्चामा कम्तिमा ५० प्रतिशत ले बलिदान गर्ने सपथ खाएको थियौं । सुदुरपश्चिम (यही कञ्चनपुर) का दुईजना केन्द्रिय सदस्य सुरेन्द्र बिष्ट र नर बहादुर धामी रातारात टाप कसे । तर, यही सुपको कैलाली बेलादेवीपुर सेहरी गाउँमा सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा सेम संयोजक जनम बराल, पूर्व केन्द्रीय सदस्य लेखनाथ पौड्याल, कैलाली जिल्ला उपाध्यक्ष रतन चौधरी लगायत १० जनालाई सेल्टरमा खाना खाइरहेको बेला नियन्त्रणमा लिई कायर्तापूर्वक हत्या गरियो । त्यसैगरी २०५८।९।१२ गते अखिल (क्रान्तिकारी ) डडेलधुरा अध्यक्ष लालबहादुर बोहरा सहित ६ जना कमरेडहरूलाई जोगबुढा ४ लामिगडामा हत्यारो जत्थाले नियन्त्रणमा लिई हत्या ग¥यो ।

यो घटनाले हाम्रो सङ्गठनको जीवनमा धेरै ठूलो क्षति भएको छ । हामी विगत पाँच महिना यता सेममा नेतृत्वविहीन जस्तो बन्न पुगेका छौं र त्यो चुनौतीको सामना गर्नुपर्ने ठाउँमा हामी उभिएका छौं ।
अँ साच्ची तिलक जी, मसँग एउटा अर्काे विरताको कथा बाँकी छ । हामी जनयुद्धको ७ औं वर्षगाँठ भर्खरै मनाएर आयौं । जनयुद्धको वर्षगाँठकै समय अँझ शहीद सप्ताह (फाुगुन १४–२१) बिचमा गत फागुन १७ गते कञ्चनपुरको डुङ्गा भन्ने ठाऊँमा कमरेडहरूले एउटा इतिहास निर्माण गर्नु भएको छ । सुन्दा पनि आङ् जिरिङ्ग हुने त्यो साहसिक कारबाहीको कमाण्डर हुनु हुन्थ्यो कमरेड शुरेश (दिपक शाही) । कमरेड सुरेशको नेतृत्वको जनमुक्ति सेनाको सानो टुकुडी र केही संगठका साथीहरू केही दिनदेखि दुश्मनको श्वेत आतङ्कको जवाफ दिन कञ्चनपुरमा खट्नु भएको थियो । तर एम्बुश र माइनिङको सम्भावना कम भयो । हाम्रा कमरेडहरू र सर्वसाधारण जनता मारिने क्रम भने रोकिएन । त्यस वखत म विद्यार्थी सङ्गठनको कामले पहाड उक्लिएको थिएँ । साथीहरूले कमाण्डो आक्रमणको योजना बनाउनु भएछ । दुश्मनको किल्ला नजिकै दिउसोको समय गस्तिमा आएको ११ जनाको सुरक्षा फौज र ठ्याक्कै उहीँ संख्यामा रहेको जनयोद्धाहरूविच त्यो घमाशान युद्ध सायदै त्यो कसैले कल्पना गर्न सक्छ । एकातिर अत्याधुनिक हतियार र अर्काेतिर २ वटा ग्रिनेट १ कटुवा पेस्तोल र बाँकी खाली हात । त्यो भिषण र ऐतिहासिक युद्धमा आधा घण्टामा मोर्चा जितेर ५ दुश्मनको सफाय गरेर हतियार कब्जामा लिएर १ जना कमरेड सामान्य घाइते बाहेक सकुशल ढङ्गले टुकुडी ब्याक गर्न सक्नु कुशल कमाण्डरको साहस, सौर्य र युद्ध कौशलताको परिचय थियो । एउटा सल्यानी आफ्नो कमरेडले त्यो गर्न सक्नु भएकोमा हामीलाई गर्व छ । मैले उहाँलाई अलि दुस्साहस भएन र ? भनेको, उहाँले त्यसै मर्ने अवस्था भए लडेर किन नमर्ने ? सोचेर आँटेको हो भन्नुहुन्छ । सर्वहारा वर्गको मुक्तिको महान सपना सहित व्यक्त भएको यो अठोट भन्दा ठूलो शिक्षा हाम्रो लागि के हुन सक्छ र ?
तिलकजी, म पछिल्ला दिनमा यस क्षेत्रभित्रका विभिन्न जिल्लाका विद्यार्थी सङ्गठनका गतिविधिमा सहभागी बन्न थालेको छु । पार्टीले रिक्त रहेको क्षेत्रीय संयोजकको जिम्मेवारी सुम्पिने जस्तो कुरा गर्दैछ । सायद सङ्गठनको केन्द्रीय कार्यालयसँग समन्वय भएपछि टुंगो लाग्छ होला ।
अभियानमा हिड्नु र कार्यक्षेत्र लिएर बस्नु फरक कुरा रहेछ । कार्यक्षेत्र लिएपछि जिम्मेवारी पनि बढेको महसुस हुने रहेछ । स्थानीय समस्या पनि थाहा हुँदोरहेछ । त्यससँग सङ्घर्ष पनि गर्नु पर्दाे रहेछ । आजभोलि क्षेत्रीयता र स्थानीयताका केही समस्या पनि पार्टीमा देखा पर्न थालेका छन् । जिम्मेवारी बाँडफाँड र पदोन्नतिमा ती समस्या अवसरवादी कोणबाट देखिन खोज्दै छन् । हामीलाई त समस्या छैन । मालेमावाद र प्रचण्डपथको आलोकमा रही कम्युनिष्ट अन्तराष्ट्रियतावाद र चे ग्वेभारा आदर्श मान्ने हामी जुनसुकै मोर्चामा शहीद हुन पनि तयार छौं । कमरेड बारुण र कमरेड अकाशले हामीलाई यही सिकाएर जानु भएको छ ।

तिलकजी, गन्थन धेरै लामो जस्तो भयो । युद्धमोर्चाका ५,६ महिनाको अनुभूतिहरू एउटा पत्रमा समेट्न सम्भव छैन । यतिमात्र कि तपार्ईंसँग मैले जति अन्तरक्रिया गर्ने मौका पाएँ त्यसमा तपार्ईंले व्यक्त गरेको क्रान्तिकारी भाव, सिक्ने इच्छाशक्ति, नयाँ विषय प्रतिको तपार्ईंका रचनात्मक जिज्ञासाहरूले मलाई गहिरो प्रभाव छोड्नु भएको छ । क्रान्तिकारी आन्दोलन सयौं, हजारौं नयाँ क्रान्तिकारी योद्धाहरूलाई फर्मेशनवद्ध गर्ने अभियान हो । यो अभियानमा एक कुशल योद्धाको रुपमा अगाडि आउने तपार्ईंको राम्रो सम्भावना देखेको छु । म लामो समय तपार्ईंको गृहक्षेत्रतिर काम गरेँ । सदरमुकाम र त्यसको आसपासको क्षेत्रलाई कार्यक्षेत्र बनाएको थिएँ । केही साथीहरू आन्दोलनमा जोडिनु भयो तर उहाँहरूलाई टिकाउन सकिएन । त्यो क्षेत्र बाँझो छ, गर्नु धेरै छ । मुकाम क्षेत्रमा तपार्ईंं जत्तिको साथीको सहभागीता आन्दोलनका लागि राम्रो उपलब्धि हो । तपार्ईंले आफ्नो महŒवलाई स्थानीय र भोलिको जिल्ला र राष्ट्रिय जिम्मेवारीको आँखाबाट समेत बुझेर आफूलाई सङ्घर्षमा सहभागी गराउनु हुनेछ ।

जिल्लामा भएको फौजी कारबाही श्रीनगर प्रहरी चौकी कब्जा गरेको खबर पनि पाएँ । जिल्लामा भएका राजनीतिक गितिविधिले सल्यानलाई माओवादी आन्दोलनको किल्लाको रुपमा रुपान्तरण गरेको छ । जिल्लाबाट बाहिर गएर थुप्रै कमरेडहरूले क्रान्तिको भट्टिमा आफूलाई होम्नु भएको छ । सबै योद्धाहरूप्रति सलाम अर्पण गर्दछु ।
अखिल (क्रान्तिकारी) सल्यान र सङ्गठनका सबै नेता कार्यकर्ताहरूलाई मेरो लाल अभिवादन सुनाईदिनु होला । पार्टीका आदरणीय र सहयोद्धा सबै कमरेडहरूलाई पनि ।

सम्भव भएसम्म जिल्ला तिरको खबरलाई पत्राचार मार्फत सम्प्रेषण गर्दै गर्नु होला ।
क्रान्तिकारी अभिवादन सहित
                                                                                                                                                                   तपार्ईंको रमेश मल्ल (आदर्श)
                                                                                                                                                                                  २०५८।१२।३०

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org