ताजा समाचार

शंकर पोखरेलले सार्वजनिक गरेको ४५ बुँदे प्रगति विवरणमा के छ ?

काठमाडाै । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो कार्यकालमा भएका मुख्य-मुख्य कार्य समावेश गरी ४५ बुँदे विवरण सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जला फेसबुकबाट ती विवरण सार्वजनिक गर्दै पोखरेलले आफ्नो कार्यकालमा व्यक्तिगत र संस्थागत रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरू अघि बढेको दाबी गरेका छन् ।

हेर्नुस् पोखरेलले सार्वजनिक गरेको विवरण:

तीन वर्ष पाँच महिना २५ दिन लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर आजवाट विधिवत रूपमा बिदा भएँ । यस अवधिमा प्राप्त सहयोगका लागि सबैलाई धन्यवाद । माननीय कुलप्रसाद केसीको नेतृत्वको नयाँ सरकारलाई कार्य सफलताको शुभकामना ।

मेरो मुख्यमन्त्रीत्वको कालमा व्यक्तिगत र संस्थागत रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरू अघि बढे । मुख्य कामलाई यस रूपमा सूत्रबद्ध गर्न सकिन्छ ।

१. प्रदेश स्थापना हुँदाको समयको प्रदेशको वस्तुस्थिति झल्कने स्थिति पत्रको प्रकाशन ।

२. कर्मचारी व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको पदस्थापन र सरुवा हुने व्यवस्था र आधारभूत संगठन संरचनाको निर्माण ।

३. प्रदेश योजना आयोगको गठन र एक वर्षभित्र नै पञ्चवर्षीय योजना निर्माण ।

४. कानुन आयोग र मस्यौदा समितिको गठन र कानुनको निर्माणमा तीव्रता ।

५. आवधिक योजनाका आधारमा वार्षिक नीति तथा कार्यक्रम र मध्यकालीन खर्चसंरचना तयार गरी कार्यान्वयनको थालनी ।

६. प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा तोक्ने ऐतिहासिक निर्णय ।

७. कृषि उद्योग र पर्यटनलाई अर्थतन्त्रको विकासको आधारको रूपमा पहिचान गरी त्यसको विकासको योजना र कार्यक्रम निर्माण ।

८. सामाजिक र मानवीय विकासका लागि शिक्षा,स्वास्थ र सामाजिक क्षेत्रको विकासको थालनी ।

९. दुई वटा प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पताल र १२ वटा जिल्लास्तरिय अस्पतालहरूको क्षमता विस्तार गरी ५० शय्याको अस्पतालका रूपमा स्तरोन्नती ।

१०. लमहीमा ट्रमा सेन्टर र चन्द्रौटामा सरुवा रोग अस्पतालको निर्माणको थालनी ।

११. ४ वटा कोरोना विशेष अस्पतालको निर्माण र संचालन, आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर र क्वारेन्टिनको व्यवस्थापनमा विशेष भूमिका ।

१२. विश्वविद्यालय स्थापनासम्बन्धी छाता ऐनको निर्माण र बाँकेको खजुरामा विश्वविद्यालय स्थापनाको निर्णय ।

१३. स्मार्ट कृषि गाउ कार्यक्रम, हरित स्वयमसेवक, करारखेती, कृषिकर्मी रोजगार कार्यक्रम लगायत कृषिक्षेत्रको विकास र रूपान्तरणका योजना तथा कार्यक्रम ।

१४. प्रदेशको विविधता एकै थलोमा प्रदर्शन गर्ने गरी प्रदेश एस्पोको सफल आयोजना ।

१५. आञ्चलिक मनोविज्ञानलाई प्रादेशिक मनोविज्ञानमा रूपान्तरण गरी हामी लुम्बिनीवासीको भावना निर्माण ।

१६. सुस्ता, मर्चवार र नरैनापुरजस्ता सिमावर्ती क्षेत्र र सिमानाकाको विकासमा अग्रसरता ।

१७. रणनीतिक सडक सञ्जालको योजनाबद्ध विकास र पालिकाको केन्द्र जोड्ने सडकको निर्माण ।

१८. प्रदेशमा एक करोडभन्दा कम लागतका सवारी साधनको मात्र खरिदको व्यवस्था । मुख्यमन्त्रीका लागि नयाँ गाडी नकिनिएको ।

१९. सुशासन ऐनको निर्माण गरी साधारण खर्च कटौती र विकास खर्चमा पारदर्शीता निर्माण ।

२०. प्रदेशको अधिकांश बजेट ठेक्का व्यवस्थापनका माध्यमबाट कार्यान्वयन ।

२१. एक वर्षमा ४० हजार घरमा धार जडान गर्न सफल ।

२२. सिँचाइ, खानेपानी, तटबन्ध र सडक पुलमा शतप्रतिसतभन्दा बढी बजेट खर्च गर्ने क्षमताको विकास ।

२३. तीन वर्षको छोटो अवधिमा पूँजीगत खर्च शतप्रतिसत गर्न सफल ।

२४. केन्द्र र स्थानीय तहसँगको राम्रो समन्वय र सहकार्य ।

२५. औसतमा प्रत्येक वर्ष २०० किलोमिटर सडक कालोपत्रे गर्न सफल ।

२६. आगामी वर्ष झण्डै ८० वटा पुल निर्माण हुने अवस्थाको निर्माण ।

२७. केन्द्रबाट हस्तान्तरित सशर्तका कार्यक्रममा शतप्रतिसतभन्दा बढी बजेट परिचालन गर्न सफल ।

२८. केन्द्रका ठूला र गौरवका आयोजनाको कार्यान्वयनमा सहजिकरण ।

२९. लुम्बिनी प्रदेशको दिर्घकालीन योजनाको आधार तयार ।

३०. ठूला औद्योगिक क्षेत्रका लागि जमिनको सुनिश्चितता ।

३१. तीन महानगर पूर्वाधार विकासको अवधारणा तयार ।

३२. प्रदेश राजधानीको गुरुयोजना निर्माणको प्रकृया आरम्भ ।

३३. दुई वटा प्रादेशिक अस्पततालाई विशिष्टिकृत अस्पतालको रूपमा विकास गर्न गुरुयोजना निर्माण ।

३४. प्रदेश लोकसेवा आयोग गठन भइ कार्य आरम्भ भएको ।

३५. सूचना प्रविधि प्रतिष्ठान गठन भइ डिजिटल प्रदेश निर्माणको थालनी ।

३६. प्रदेश प्रशिक्षण प्रतिष्ठानका माध्यमबाट प्रदेश र स्थानीय तहमा जनशक्ति विकासको थालनी ।

३७. पूर्वाधार विकास प्राधिकरण गठन भइ ठूला विकासका आयोजना अघि बढाइएको ।

३८. पालिकाहरूमा खेल पूर्वधारको विकास र बहुद्देस्यीय भवनको निर्माण ।

३९. विज्ञान शिक्षामा छात्राको सहभागितमा उल्लेख्य वृद्धि ।

४०. मुस्लिम, दलित र कमैया र कमलहरीका छोरीहरूका लागि उच्चशिक्षामा छात्रवृत्तिको व्यवस्था ।

४१. प्रदेशमा अवस्थित विश्वविद्यालयसँग अनुसन्धानमूलक कार्यमा साझेदारीको थालनी ।

४२. मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका माध्यमबाट गरिबी निवारणमा महत्वपूर्ण योगदान ।

४३. राज्यका तीन वटै सुरक्षा निकायसँग कोभिड १९ महामारी र विपद् प्रतिकार्यमा राम्रो सहकार्य र समन्वयको स्थापना

४४. जनता आवास कार्यक्रमको कार्यान्वयनमा महत्वपूर्ण उपलब्धी ।

४५. सहरी क्षेत्रमा सडक पेटी निर्माणमा तीव्रता र पर्यटकीय सम्भावना वोकेका क्षेत्रमा पूर्वाधारको विकास ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org