ताजा समाचार

प्रदेश २ मा एकीकृत समाजवादीका दुई मन्त्रीले लिए सपथ

जनकपुरधाम । प्रदेश २ सरकारमा माधव नेपाल नेतृत्वको नेकपा एस पनि सहभागी भएको छ ।

आज नेकपा एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादव मन्त्रीको शपथ लिएका हुन् ।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । आइतवार विहान मधेस भवनमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त दुबै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराए ।

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एसको प्रदेशसभामा १३ सांसद छन् । यसअघि नै नेकपा एसलाई सरकारमा ल्याउने प्रयास भएको थियो । तर मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा नेकपा एस सरकारमा गएको थिएन । सहमति जुटाउन नेकपा एसका अध्यक्ष माधव नेपालसँग भेट्न मुख्यमन्त्री लालबाबु राउत काठमाडौं नै पुगेका थिए ।

काठमाडौंमा भएको सहमति अनुसार नेकपा एसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री राउतले मन्त्री रामनरेश रायलाई पदबाट हटाएका थिए । तत्कालीन राजपाको कोटाबाट मन्त्री बनेका राय जसपा फुटेर लोसपा बने पनि पद जोगाउनकै लागि उनी जसपामै बसेको चर्चा थियो । तर अन्ततः उनले पद गुमाउनु परेको छ ।

जसपाले नेतृत्व गरेको प्रदेश सरकारमा यसअघि नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ । जसपा विभाजन भएपछि तत्कालीन राजपाको तर्फबाट बनेका मन्त्री र राज्यमन्त्रीहरुलाई हटाएर कांग्रेस, माओवादी र नेकपा एसलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउत बाध्य भएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org