ताजा समाचार

एसइईमा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई नगद पुरस्कार वितरण

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसइई दिएकामध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक/एक छात्रछात्रालाई रु एक लाखका दरले पुरस्कार वितरण गरिएको हो ।

थर्पुडाँडा मावि सप्तेश्वरकी आस्था राईलाई रु एक लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै थर्पुडाँडा मावि सप्तेश्वरका सुजन कार्की र पृथ्वी मावि बाक्सिलाका आलोक राईलाई जनही रु ५० हजार र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिनुभयो ।

गत वर्ष एसइईमा उत्कृष्ट अङ्क ल्याउने थर्पुडाँडा मावि सप्तेश्वरका रेडस्टार राइ र पृथ्वी मावि बाक्सिलाकी युनिशा राईलाई रु एक लाख प्रदान गरिएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७९/२०८० देखि नीति तथा कार्यक्रम बनाएर एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने छात्रछात्रालाई नगद पुरस्कार दिँदै आएको छ ।

गाउँपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयमध्ये नतिजाको आधारमा पृथ्वी मावि बाक्सिलाका प्रधानाध्यापक रणबहादुर राई उत्कृष्ट प्रधानाध्यापक घोषित हुनुभएको छ । उहाँलाई रु दश हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । बुहारी शिक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाले अहिले दश बुहारीलाई निःशुल्क पढाइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org