ताजा समाचार

रुकुमपश्चिममा राष्ट्रिय परिचयपत्र वितरण सुरु

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ ।

आइतबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाँफिकोट गाउँपालिका–२ निवासी बिरबहादुर केसीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी औपचारिक रुपमा परिचय पत्र वितरण कार्यको सुरुवात गरेका हुन ।

रुकुम पश्चिममा २०७७ साल कात्तिक महिनादेखि राष्ट्रिय परिचयपत्र प्रयोजनका लागि विवरण सङकलन सुरु गरिको थियो । सोहि विवरणको आधारमा तयार भएको डिजिटल परिचयपत्र आइतबारबाट वितरण गर्न थालिएको हो ।

सेवाग्राहिलाई परिचयपत्र वितरण गर्दै प्रमुख जिल्ला अधिकारी पन्तले राष्ट्रिय परिचयपत्रकै आधारमा भोलिका दिनमा सेवाग्राहीको काम सहज हुने बताए । ‘अहिलेलाई जिल्लामा राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य छ,’’ प्रमुख जिल्ला अधिकारी पन्तले भने, ‘‘राज्यले यसलाई अब मालपोत, बैङ्किग कारोबार, यातायात सेवा लगायतका कार्यमा विस्तारै जोड्दै लैजाने नीति लिएको छ ।’’ नागरिकको सेवा सुविधा सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्त्वपूर्ण हुने उनले उल्लेख गरे ।

अन्य विवरणहरु क्रमशः यसैमा समावेश गर्दै लैजाने र पछि सबै सेवा प्राप्त गर्न अनिवार्य हुने अवस्था बन्ने भएकाले सबैलाई राष्ट्रिय परिचयपत्र लिन प्रजिअ पन्तले अनुरोध गरे। परिचयपत्रमा व्यक्तिगत विवरणसहित जैविक विवरणअन्तर्गतका औँठा छाप, दुई वटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । राहदानी बनाउन आउनेले अनिवार्य रूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने नियम छ ।

जिल्लाका ७३ वटै वडामा शिविरमार्फत ६५ हजार विवरण सङ्कलन गरिएको थियो भने जिल्ला प्रशासन कार्यालयमा १८ हजार जनाको विवरण सङ्कलन भएको थियो । पहिलो चरणमा कार्यालयबाट सङ्कलन गरिएकाहरु मध्य १० हजार चार सय जनाको परिचय पत्र आइपुगेको जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शााखाले जनाएको छ ।

परिचयपत्र जिल्लामा आइपुगेपछि कार्यालयले व्यक्तिलाई राष्ट्रिय परिचयपत्रको फोटो खिँचाउँदाका बेला उपलब्ध गराएको सम्पर्क नम्बरमा म्यासेज पठाउने गरेको छ । म्यासेज प्राप्त भएका सेवाग्राहीले आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रको फोटो खिचाएपछि दिएको विवरण कागज लिई आउनुपर्ने प्रशासन कार्यालयले जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org